2015-09-17

ऋषि पंचमी - के हो र किन मनाइन्छ - प्रवीण अधिकारी

के हो ऋषि पंचमी ? किन मनाइयो ऋषि पंचमी पर्व ?

ऋषि पंचमी सम्बन्धमा साश्त्रीय व्यवस्था :
ब्रह्माण्ड पुराण अनुसार भाद्र शुक्ल पक्षको पंचमी तिथिलाई ऋषि पंचमी भनिन्छ ! पौराणिक कथा अनुसार चतुर्थी युक्त पंचमी तिथि ऋषि पंचमीकोलागि ग्राह्य मानिन्छ ! नाग पंचमी जस्तो षष्ठीयुक्त पंचमी यो पर्वकोलागि स्विकारिन्न ! भविष्योत्तर पुराणमा भनिएको छ भगवान ईन्द्रले त्वष्टा ऋषिको छोरा वृत्तासुरलाइ मारे पछि ब्रह्माजीले भगवान ईन्द्रले गरेको पापलाई मोचन गर्न त्यो पापलाई चार ठाउँमा बाँडिदिए ! जस अनुसार पहिलो पापको पूल्ठो अग्निको धूँवा मिश्रित ज्वालामा , दोश्रो नदिहरुमा बग्ने फींज भएको बर्षाको जलमा ,तेश्रो पहाड पर्वतमा भएका रुखमा उम्रिने एञ्जेरु तथा सेपमा बसेको ढुङ्गाको काइको रुपमा तथा चौथो नारीजातिहरुको रजस्वालाको रुपमा ! यसकारण मासिक धर्मका समय लाग्नेपापहरुको निबृतिको लागि यो व्रत स्वास्निमान्छेहरु द्वारा गर्ने चलन बसेर गयो ! यो पौराणिक कर्म हो ! यसका उप द्रष्टा ऋषि सबरतमा हुन् ! उनैले दिएको सल्लाह र निर्देशन अनुसार यो ब्रत बस्ने चलन चलेर गएको हो ! मध्यान्ह कालको स्नान , रेशमी कपडा को पहिरन , शाकाहारी बिशेष गरी हलो कोदालोले नाजोते नखनेको जिनिसको भोजन ,ऋषि पत्नी अरुन्धती सहित सप्त ऋषिहरुको पूजा यस ब्रतको बिशेषता हो ! सात घडा , सात ब्राह्मण जसलाई अन्तमा ऋषिहरुको सातै प्रतिमा प्रत्येकलाई पुग्ने गरी दान दिइन्छ ! यदि सबै ऋषिहरुको आह्वान एउटै कलशमा गरिएको छ भने त्यो कलश एउटा ब्राह्मणलाइ तथा अन्यलाइ ऋषि प्रतिमा सहित बस्त्रहरु दक्षिणाको रुपमा दिनु पर्दछ !


परम्परा :
पारिवारिक सुख ,शान्ति , आरोग्यता , धन धान्य , असल सन्तान , बैभव र विजय प्राप्तिकोलागि तथा स्वास्नी मान्छे महिनावारीका समय स्त्री र पुरुष द्वारा परिवारमा जानेर , नजानेर हुनपुगेका त्रुटी र गरिएका पापकर्म निवारणकोलागि यो ब्रत नेपालमा गरिने चलन चलेर गएको हो ! शास्त्रले यो ब्रत स्त्री र पुरुष दुबैले लिनु पर्ने बताएको भएता पनि नेपाली समाजमा चाहि स्वास्नी मान्छेले मात्र यो ब्रत लिने गरेको देखिन्छ !

बिधि :
यस दिन ब्रतालुहरु कुनै पवित्र नदी नाला , तलाउ वा घरमै गंगाजल मिश्रित पानीले नुहाएर घरको कुनै सफा ठाउँमा गाइको गोबरले लिपेर तामाको पूर्ण कलश अष्टदलमा स्थापना गरी सप्त ऋषिहरुको प्रतिमालाइ पंचामृत स्नान गराएर सेता बस्त्र , सेता फूल, अक्षता , दूध ,दहि ,घ्यू , मह ,चिनी , नैबेद्द ,जनै , आठवटा पान सुपारी जस्ता सामाग्रीहरु तयार पारी गर्ने गरिन्छ ! बशिष्ठ ऋषिकी पत्नी अरुन्धतीको पूजा गर्दा स्त्री बर्गले सौभाग्य सामाग्रीहरु अर्पण गर्नु पर्दछ ! ऋषि पंचामिको पूजा सामग्रीमा वेलपत्र नभई नहुने पूजा सामग्री हो ! यस व्रतमा ब्रतीले हलोले नजोतेको ,कोदालोले नखनेको साग प्रयोग गर्नु भन्ने बचन रहेकोले नेपाली समाजमा पूजा सकिएपछि कर्कलोको साग ,समाको भात खाने चलन छ ! यस व्रतमा शाग / नीवारहरु / साँवा (श्यामाक) / कन्द-मूल / फलफूल बाहेक अरुकुरा खाइन्न ! हलो ,कोदालो द्वारा उत्पन्न चिज बिज अन्न पात खाइदैन !
ब्रह्म चर्यमा रहनु यसको अनिबार्य नियम हो ! पारिवारिक आनन्द सौभाग्य वृद्धि , अज्ञात पापबाट मुक्ति , शारीरिक सौन्दर्य, सद बिचारी छोरा छोरीको प्राप्ति यस चाडको लक्ष हो !

यो ब्रतको संकल्प यस्तो हुन्छ –
अहं ज्ञानतोऽज्ञानतो वा रजस्वलावस्यायां कृतसंपर्कजनितदोषपरिहारार्थमृषिपञ्चमीव्रतं करिष्ये।
यस्तो संकल्प गरेर बशिष्ठ ऋषिकी पत्नी अरून्धतीका साथ सप्तर्षिहरुको पूजा गरिन्छ ! अरून्धतीकोलागि

मन्त्र 
अत्रेर्यथानसूया स्याद् वसिष्ठस्याप्यरून्धती। कौशिकस्य यथा सती तथा त्वमपि भर्तरि॥
यस मन्त्रद्वारा अरून्धतीलाइ आवाहन गरेर पूजा गरिन्छ ! यो ब्रतकोलागि पूजा गरिंदा सात जना ब्राह्मणहरु ,सात बटा कलशमा सात बटा ऋषिहरु स्थापना गरी गरिन्छ ! अन्तमा ऋषिहरुको बनाइएको प्रतिमा तिनै सातजनालाई दान दीइ पठाउने चलन भेटिन्छ !

अर्ध्यमन्त्र
कश्यपोत्रिर्भरद्वाजो विश्वामित्रोय गौतम:।
जमदग्निर्वसिष्ठश्च सप्तैते ऋषय: स्मृता:॥
गृह्णन्त्वर्ध्य मया दत्तं तुष्टा भवत मे सदा॥[2]

वराहमिहिरको बृहत्संहिता अनुसार स्वायाम्भुव मन्वन्तरका ऋषिहरू मरीचि, वसिष्ठ, अंगिरा, अत्रि, पुलस्त्य, पुलह, क्रतु; र साध्वी अरून्धती वसिष्ठ ऋषि संग पूजा गरिन्छ ! कोहि व्यक्तिहरु बैबश्वत मन्वनतरकै ऋषिहरू कश्यप ,बशिष्ठ ,भारद्वाज ,गौतम ,जमदग्नि अत्रि, विश्वामित्र को पूजा गर्दछन !

प्रवीण अधिकारी ज्युको फेसबुकवालबाट साभार ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।