2010-12-23

यसरी पनि ठगेका रहेछन् रुबेलले - नेपालप्लस.कम

यसरी पनि ठगेका रहेछन् रुबेलले - नेपालप्लस.कम

विकिलिक्सले अमेरिकी कूटनितिक नियोग र दूतावासका गोप्य कागजात सार्वजनिक गरेर संसार हल्लाएझैं जनआस्था साप्ताहिक सुजाता र उनका बंगालादेशी ज्वाइँको अवैध धन्दाबारे सार्वजनिक गरेर । अघिल्लो हप्ता पारस शाहसितको रेसोर्ट काण्डपछि रुबेलले नेपाल बसेर गरिरहेको अवैध धन्दाबारे सनसनिपूर्ण समाचार लेखेर चर्चामा आएको थियो जनआस्था साप्ताहिक ।
आज बुधवारको अंकमा सुजाताको निर्देशनमा बंगलाद्शी ठिटाहरुलाई नेपालको दूरसंचार मा उपकरण जडान गर्ने जागिर दिएर रुबेलले करोडौंको भ्रष्टाचार गरेको समाचार लेखेको छ । ‘रुबेलका सेनामेनाको रामकहानीशिर्षकको जन आस्थासाप्ताहिकको आजको समाचार हेर्नुस् है त ?
आपका जाएगा ना बापका जाएगाभनेजस्तो अर्काको देशमा आएर राष्ट्रलाई नै लुटि खान पल्किएको एउटा ठिटोलाई जोगाउने खेल हेर्दा थाहा लाग्छ, कस्तो छ हाम्रो न्यायपालिका र कस्ता छन् हाम्रा ब्युरोक्रयाट्स ? कांग्रेस नेतृ सुजाताका बंगलादेशी ज्वाइँ रुबेल चौधरी पर्दापछाडि रही सञ्चालन हुने गरेको कल बाइ पास (भिओआइपी) को धन्दा बुझ्दै जाँदा यो तथ्य छर्लङ्ग हुन्छ ।
महानगरीय प्रहरीको टोलीले गत २७ साउनमा ललितपुरको खुमलटारस्थित रामकुमारी महर्जनको घरमा अवैध तवरले भ्वाइसओभर इन्टरनेट प्रोटोकल (भिओआइपी) प्रविधिमार्फत ठगीधन्दा फेला पार्‍यो । त्यही दिन त्यहाँबाट प्रहरीले उक्त प्रविधिको उपकरण रेखदेखमा तैनाथ केही बंगलादेशीसहित नेपाल टेलिकमको आठ सय १२, एनसेलको तीन हजार र युटिएलको नौ थान सिम पनि बरामद गर्‍यो । यसको दुई सातापछि, अर्थात् ९ भदौमा नेपाल टेलिकमले प्रहरीलाई चिठी लेख्यो र भन्यो, ‘ती सिमकार्ड कसको नाममा, कहाँबाट जारी भयो भन्ने विवरण तु. जानकारी गराइनेछ ।आज चार महिना बितिसक्यो, टेलिकमले विवरण उपलब्ध गराउनु त टाढाको कुरा,
प्रहरीलाई अर्को कुनै पत्र पनि पठाएन । प्रहरी अनुसन्धानबाट सिमकार्ड उपलब्ध गराउने भनिएका व्यक्ति पहिचान भएका थिए, तर टेलिकमले प्रमाणित गरिदिएको थिएन ।
सिमकार्ड उपलब्ध गराउनेमा चितवन, पटिहानी- ६ का २० वर्षीय विजय सिंह, चैनपुर- ६ का २९ वर्षीय ऋषि अधिकारी, कामपा- ३१ का २६ वर्षीय कर्णाद उपाध्याय, कामपा- ३२ का ३३ वर्षीय विमल केसी र चाबहिलका २२ वर्षीय सागर मिश्र हुन् । तर, ती व्यक्ति सुरुदेखि नै फरार छन् । प्रहरीले पक्राउ गर्न चाहँदा टेलिकमले आजसम्म पनि कुनै सहयोग गरिरहेको छैन । यो हाम्रो ब्युरोक्रेसीको निकम्मापनको एउटा ज्वलन्त उदाहरण हो ।

उता न्यायालयको नाममा हुने नाटकको परिघटना अर्कै छ । नाम्चे केबलनेटका सञ्चालक श्रीष कर्माचार्यले खुमलटारको त्यो घरमा भिओआइपी उपकरण जडानसम्बन्धी काम गरेको कुरा प्रहरी अनुसन्धानबाट खुल्यो । ललितपुर प्रहरीले कर्माचार्यलाई पक्राउ गरी जिल्ला अदालतमा पेस गर्‍यो । जिल्ला अदालतले कसुरबमोजिमको सजाय तोकेर जेल पठायो । तर, लगनखेलस्थित जिल्ला अदालतको फैसलालाई पुल्चोकको पुनरावेदन अदालतले सदर गरेन, अर्थात् अभियुक्त माथिल्लो अदालतको आदेशले भर्खरै मुक्त भए ।
जनताको राजस्वबाट चल्ने सार्वजनिक संस्थानमाथि शक्तिकेन्द्रको दबाबमा कति धेरै लुट मच्चाइन्छ भन्ने कुरा यसअघि शानेबानि, ट्रली र साझा बस धराशायी भएबाटै देखिएको हो । अहिले भिओआइपीका नाममा उस्तै गम्भीर लुट मच्चिएको छ, नेपाल टेलिकममा । यसरी विदेशबाट आएको फोनमा स्वदेशकै नम्बर देखिने यो अवैध धन्दाबाट नेपाल टेलिकमको सन् २०१० को मार्च २२ देखि ०६७ सालको साउन २७ सम्म -जम्मा एक सय ४४ दिनका बीचमा) पौने एक अर्ब, अर्थात् ८९ करोड ८५ लाख ६० हजार रूपैयाँ सखाप भएको छ । यसबाट टेलिकमले सरकारलाई बुझाउनुपर्ने राजस्वबापतको रकम २२ करोड ४६ लाख ४० हजारको पनि पत्तो छैन । त्यस्तै, स्पाइस नेपालले सञ्चालनमा ल्याएको एनसेलको प्रयोगबाट ऊ तीन करोड ८१ लाख ८८ हजार पाँच रुपैयाँ ५१ पैसामा डुबेको छ भने राज्यले पाउनुपर्ने राजस्व रकम ४७ लाख ८३ हजार पाँच सय २८ रुपैयाँ १६ पैसा बर्बाद भएको छ ।
जसरी परराष्ट्रमन्त्री सुजाता कोइराला अहिले ज्वाइँ प्रकरणमा सञ्चार माध्यमविरुद्ध खनिएकी छन्, त्यही नै आधारमा अनुसन्धान र कारबाही गर्ने राज्यका निकाय मौन बसेको भए अर्कै कुरा, नत्र भिओआइपीमा उनका ज्वाइँ रुबेलको संलग्नतालाई अर्को एउटा तथ्यले पनि राम्रोसँग पुष्टि गर्छ ।
पक्राउ परेका बंगलादेशी नागरिक २५ वर्षीय निसार अहमदले जम्मा १० कक्षा पढेका छन् । अर्का बंगलादेशी २२ वर्षीय मुक्तादिर हुसैन तोमल एकजना गरिब घरका छोरा हुन्, जसको आफ्नै देशमा पनि एक टुक्रा जमिन छैन । उनीहरूले प्रहरीलाई दिएको बयानमा महिनाको सात हजार तलब पाउनेगरी काम गर्न काठमाडौं ल्याइएको बताएका छन् । नेपालको कतैबाट पनि सोझै सिमाना नछुने बंगलादेशका यी बेरोजगारलाई करोडौंको उपकरण जडान गरेर डरलाग्दो धन्दा सञ्चालन गर्न कसले ल्यायो काठमाडौं ? यी अर्बौंको राजस्व र कम्पनीमाराहरूले ती गरिबलाई सात हजार तलब दिए भनेर पत्याउन सकिएला ?
यसरी भिओआइपी प्रविधिमार्फत कल बाइपास गरेर फिलिपिन्सबाट आउने रकम नयाँ बानेश्वरस्थित स्ट्यान्डर्ड चार्टर्ड बैंकमा जम्मा हुन्थ्यो । सुजाताका ज्वाइँ रुबेल नजिकैको होटल एभरेस्टमा बस्थे । अहिले पनि रुबेललाई काठमाडौंको कुनै सडकमा भेटियो भने उनी कालो रंगको किया स्पोर्टेज् कारमा हुन्छन् । हो, त्यो गाडी त्यही एभरेस्ट क्यासिनोको नाममा छ । देशको राजस्व ठगेर भाग्दै हिँडेका राकेश बाद्वासँग रुबेलको राम्रो मिल्ती छ । हाम्रो देशलाई ठगेर बंगलादेशी रुबेलले कमाउने पैसा क्यासिनोमा फ्याँक्छन् र अर्का विदेशी (भारतीय) बाद्वा भने कारोबार गरेर कर नतिरी लुक्दै हिँड्छन् । थाहा छैन, हाम्रो न्यायालय र ब्युरोक्रेसीको यो लथालिंगलाई नजिकबाट जानेका यी विदेशीले मिली-मिलीकन, कुन दिन हाम्रो देशलाई दाऊमा राखेर भाग्ने हुन् ?
साभारः नेपाल प्लस

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।