ड्यास बोर्डमा अलिकति तन्किएर
ढाका टोपी सोझ्याउँदै
छेवैको एक गिलास पानी तानेर
सुरूप्प पार्छन् ।
ख्वाक्क खोके जस्तो गरी
माइकमा मुख जोत्दै भन्छन् :
‘नयाँ नेपालको निर्माण गर्नु छ,
संविधान तोकिएको मितिमा बन्छ’
जनता पररररर ताली ठोक्छन्,
नेताजी दंग पर्दै
एक छन्, सास रोक्छन् ।
यद्यपि त्यो पुरानो शान्त नेपाल
नेताजीको माइके परम्परागत भाषण
जनताको परपरे तालीसँगै
अशान्त बनिसकेको हुन्छ ।
ताली, माइक, ड्यास बोर्ड
पाँच तारेमा नयाँ नेपाल कोरिन्छ
कविहरू कवितामा नयाँ नेपाल कथ्छन्
इतिहास कारहरू खुम्चेको नेपाल लेख्छन्,
लुम्बिनी र बुद्ध,
अशोकवाटिका र कपिलवस्तु
नालापनि र सुस्ता
नेताजीको दृष्टि परै हुन्छ ।
कुर्सी लिप्सा,
स्वाधीनता भन्दा नजिक हुन्छ,
जनता असन्तुष्टीको दुहाइ दिन्छन्
एउटा अर्को आमसभामा
नेताजी फेरि भन्छन् :
‘हाम्रो काँधमा नयाँ नेपालको जिम्मेवारी थपिएको छ’
जनता पररररर ताली ठोक्छन्,
नेताजी मख्ख पर्छन् ।
हाम्रा नेताजीहरू
कतै नयाँ नेपाल बनाउँदै
कतै नेपाल नै नयाँ फलाक्दै
आक्रान्त भूगोलमा
कट्ठा काट्दै, चपरी जुटाउँछन्,
र भन्छन्, ‘यो गणतान्त्रिक
नेपाल हो’
गणतन्त्रमा भूगोल खुम्चिन्छ क्यारे
सरकार विहीनता हुन सक्छ गणतन्त्र भनेको
नामर्दी पन हुन सक्ला गणतन्त्र भनेको
छिमेकीको घोडा चरन होला नयाँ नेपाल भनेको
त्यसैले त नेताजीहरू
कुर्सीमा नेपाल देख्छन्,
नेपाल कुर्सीमै राख्छन्
अनि भन्छन्,
‘अब छिट्टै सहमतीय प्रणाली बन्ने छ’
जनता ढुक्क हुन्छन् र गुन्छ
एउटा झीनो आशा अर्थात् मृग तृष्णा ।
फेरि एउटा अर्को सभा हुन्छ,
नेताजी तनक्क तन्किएर
माइकमा मुख जोत्दै भन्छन् :
‘दासताबाट हामी मुक्त छौं’
जनता परररर ताली बजाउँछन्
नेताजी दंग पर्छन् ।
साँच्चै हामी वीर नेपाली
आफ्नै दासताबाट मुक्त छैनौँ
कती आनन्द छ अचेल,
छिमेकीले सरकार छान्छ,
छिमेकीले सरकार ढाल्छ,
क्या हाइ सन्चोमा हामी नेपाली
नेताजीका नयाँ नेपालमा
पत्तै नपाइ गुलाम बनी सकेम्,
अघोषित गणराज्यमा पुगेम ।
धन्य हाम्रा नेताजीहरू ।
-विष्णु प्याकुरेल, उदयपुर
२०६७ कार्तिक ७
आधुनिक नेपालमा राजनीति गर्नेहरुको यथार्थलाई कलात्मक तरिकाले प्रस्तुत गर्नु भएको छ कविले कवितामा!!! यस्ता रगत उमाल्ने कविताहरु हामि पाठक लगायत सारा जनताको आखामा पुग्नु पर्यो....भन्न चाहन्छु.
ReplyDeleteवाह ! कुरा होस् त यस्तो !लेखाइ होस् त यस्तो !
ReplyDeleteनिकै भारी शब्दहरुको प्रहार गर्नु भएको रहेछ