2010-01-02

निजी घर–जग्गामा माओवादी व्यारेक



अरूतिर विस्थापितहरू घर फर्किरहेका बेला पाल्पाको देवीनगर गाविस, मुन्टुँका विस्थापितका घरमा भने सैन्य पोशाकमा हतियारसहितका जनसेना तैनाथ छन्। सदरमुकाम तानसेनदेखि ३६ किलोमिटर टाढाको यो वस्तीलाई तीनगिरे (अर्घाखाँची) देखि तौलिहवासम्म आधा दर्जन ठूला आक्रमणमा संलग्न 'कृष्ण सेन स्मृति ब्रिगेड, २ नं. बटालियन' ले अस्थायी ब्यारेक बनाएको हो।

गाउँमा अहिले तीन घर नेवार र सात घर मगर मात्र बाँकी छन्। धेरै त जग्गा अधिया दिएर तराईमै बसोबास गर्न थालिसकेका थिए। 'बटालियन कमिसार' प्रशान्त भन्छन्, “विस्थापित भएर गएकाहरू पुरानो जायजेथाको आत्मैदेखि आश मारेर अर्को व्यवस्था गरी बसेकाले हामीले ती घरजग्गा प्रयोगमा ल्याएका हौँ। सरकारले प्रबन्ध मिलाउनुपर्नेमा हामी आफैँ व्यवस्थित हुन प्रयास गरिरहेका छौँ।सरकारले बस्न नदिए हतियारसहित सर्वसाधारण जनताका घरमा जानुको विकल्प नहुने बताउँदै उनले भने, “१० वर्षे जनयुद्धमा पनि हामी जनतासँगै थियौँ, अहिले पनि छौँ।
'जनसैन्य इलाका' को बोर्ड राखेर बनाइएको अस्थायी ब्यारेक क्षेत्रकै छेउमा भीमसेन प्राथमिक विद्यालय छ। माओवादी बसेपछि घरधनीबाट घर रेखदेख गर्ने र जग्गा कमाउने जिम्मा पाएकाहरू पनि आउन छाडेका छन्। बस्ती नजिक ब्यारेक राखेको नरुचाए पनि गाउँलेहरू चुपचाप छन्। सञ्चारकर्मी र अधिकारकर्मीले सर्वसाधारणको सम्पत्ति किन कब्जा गरेको भन्ने प्रश्न गर्दा प्रशान्तले उनीहरूलाई 'जनसेना विरोधी' 'शान्ति विरोधी' सम्म भनेका थिए।
स्थानीय देवीनगरमुन्टुँ सडक मर्मत पनि गरेका माओवादीले ढुङ्गाकोइला उत्खनन्मा रोक लगाएर वस्तीलाई जोगाएकोमा भने गाउँलेहरू खुशी छन्। पाल्पा कोल प्रालिले अवैध रूपमा गरेको उत्खनन्बाट वस्ती भासिने खतरा थियो।
 गोविन्द लुइँटेल, पाल्पा

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।