2010-10-17

अनुत्तरित प्रश्नहरु

तस्वीर स्रोतः
http://www.lalitkalacreations.blogspot.com/
राज राइ
कुनै कथाको एक पात्र झैं 
अनुत्तरित प्रश्नहरुका ठेली बोकेर
म ठिङ्ग उभिएको छु
धर्म र अधर्महरु केलाउन्दै
जाती  र जनजाती सोच्दै
गणतन्त्र र प्रजातन्त्र सोच्दै
म आफ्नै आँगनमा 
हरेक बिहानी, पर्देशिदै छु
बिदेशिदै छु ।
धर्म के हो ?
अधर्म के हो ?
जाती र जनजातीहरु ?
मानवता ?
म बुझ्दिन
किनकी 
आफ्नै आँगनमा 
हरेक बिहानी, परदेशिएको छु
विदेशिएको छु ।

मधेशी र पहाडीको बिचमा 
कैयौं पटक मरेको मान्छे म
लिम्बुवान र खुम्बुवानको पेलाइमा 
धेरै पटक चिरिएको मान्छे म
म मेरो जाती खोज्दै छु
म मेरो धर्म खोज्दै छु
एउटा भोको ज्यामी
म मात्र एक छाक ढिँढो 
र 
एक मुट्ठी पानि खोज्दै छु
किनकी
आफ्नै आँगनमा 
हरेक बिहानी, परदेशिएको छु
विदेशिएको छु ।

स्वतन्त्रता र गणतन्त्रका नाममा
शाहु, चन्दाले दिक्क छ,
सडक नेताले ठिक्क छ
साहु र सडक बिचको मेरो डोको र नाम्लो
खै कसको अधिकार भित्र परेको छ ?
नांगा र भोका लालाबाला 
चाल्नो परेको बुढीको फरिया
यद्धपी,
म ज्यामी , मजदूर,
म मेरो जाती खोज्दै छु
म मेरो धर्म खोज्दै छु
किनकी
आफ्नै आँगनमा 
हरेक बिहानी, 
परदेशिएको मान्छे ।
विदेशिएको मान्छे ।
- विष्णु प्याकुरेल

3 comments:

  1. दाई तपाईको भावना बुझ्न सक्छु । निक्कै मन छोयो ।

    ReplyDelete
  2. आहा! तपाईका हरेक भावनालाई चिर्न नसके पनि यसलाई भने सजिलै चिरेर रस पिए. यस्तै कविता वाचन गरिरहन म प्रतिक्षामा रहेको छु.

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।