2012-01-14

पिंजडा - आश्मा गौतम

फेसबुक मित्र आश्मा गौतम जीको कविताः 

पिंजडा 

मलाई मोटा मोटा सिक्रीले बाँधिएको छैन
न त राखिएको छ कहिँ, कैद गरेर
कालो भीत्ता बीच राखिएको छैन मलाई
तर,
कुण्ठित छु, निस्सासिएको छु
अनि बाँधिएको छु, भावनाको सिक्रीबाट|

 खुला चरी झैँ आकाशमा उड्ने मेरो सपना
मात्र सपनामा सिमित हुदै छ
विचारको कठघरा भन्दा बाहिर उभिएर
स्वतन्त्र सोच्ने मेरो चाहना
आज यहाँ दबिएको छ|


यो घुटन, यो बेचैनी
अदृश्य पिजडामा अदृश्य डोरीले
बाँधीइ बस्दाको क्षण
पीडादायी, कष्टकर..
अनि यो परेसानी
मनन गर्दै मलाई आजाद गर्ने आउला
परीहरुको कथामा जस्तै...
भन्ने आस गर्न मैले छाडिसकें|

तर पनि मनको दियोमा धिप धिप गर्दै
सानो प्रकाश जिउदै रहेको आभास,
हर बखत हुने गर्दछ|

"आउला नि, कोहि त
मुक्त गर्न"
भनि सोच्दै थिएँ
कल्पना गर्दै थिएँ
भुइँमा जमेको त्यो आँशुमा हेरिरहँदा,
आफ्नो आकृति देखें
अनि,
चहकिलो प्रकाश
त्यो अदभुत उज्यालो
आहा! स्वर्गीय आनन्द|
अनि त्यो आवाज सुनें, जो भन्दै थियो
"तिमीलाई स्वतन्त्र उडाउन
म छु यहीं, मात्र मलाई जगाउ
हरेक डर, आफ्नो मनबाट पर हटाउ
सच्चा इच्छा, मनन गर, जाने इच्छा नै हो यदि तिम्रो
अनि मात्र,
पाउने छौ मलाई, तिम्रो हात थामिरहेको
महसूस गर मलाई,
हिम्मत देखाऊ
म त विराजमान छु, तिम्रै आत्मा भित्र...."

अनि त
मेरो अन्तरआत्मा भएको अनौठो आभासले  
जोर पंख पलाए
बिस्तारै
म उड्न थालें, अनन्त आकाशमा
मिठो सपनी सजाउदै,
आहा,स्वतन्त्र रुपमा...

-आश्मा गौतम, काठमाण्डु, November 28, 2011
(यसलाइ फेसबुकमा यहाँ क्लिक गरेर पनि पढ्न सक्नु हुनेछ ।