2011-02-17

नागरिक न्युज, फागुन ३


नागरिक न्युज, फागुन ३
Tuesday, 15 February 2011 11:27 प्रकाश आस्था
कसरी भन्ने र जनयुद्ध?.
नेपाली जनताले विक्रम सम्वत् २०५२ देखि २०६३ सालसम्म भोगेको अवधि एउटा कष्टकर र अरुचीकर क्षण थियो। त्यो एक आन्तरिक द्वन्द्व या गृहयुद्ध थियो। अशिक्षा, गरिबी र भोकमरीमा उम्रेको विद्रोह थियो। बेरोजगारी, तल्लो तहका जनताप्रति शासकको बेवास्ता र सत्तामा र्‍याल काढ्नेहरूको लहड र सनकको प्रतिफल थियो तर जनयुद्धथिएन । 'जनयुद्धको महान बाटो'मा गोल्डस्टार जुत्ता लगाएर भिर, पाखा र जंगलको कठिन यात्रामा ऊर्जा र जोवन खर्चेका, जीवन जोखिममा पारेकाहरूको चित्त नबुझ्नसक्छ तर धरातलीय यथार्थ र समयमलाई पहिचान गर्न नसकी अल्मलिएको त्यो विद्रोह चिनिया क्रान्ति र विश्वका अन्य भागका कम्युनिस्ट विद्रोहको नक्कलमात्र
थियो।
कान्तिपुर दैनिकमा २०६० साल मंसिरमा छापिएको समाचारअनुसार मागेको हलगोरु नदिँदा इलाममा माओवादीले ६० वर्षीय वृद्ध किसानको हत्या गरे। खलोमा धान झारिरहेका वृद्धलाई डोरीले खाँबोमा बाँधेर उनकै किशोर छोराका सामुन्ने माओवादीले घाँटी रेटेर मारे अनि छोरालाई 'बाँच्ने मन भए भाग् नत्र तँ पनि मर्छस्' भने। ती किसानको अपराधथियो, माओवादीलाई काटी खान गोरु नदिनु। गोरु नदिएकै कारण गरिब किसानको हत्या गर्ने त्यस विद्रोहलाई कसरी जनयुद्धमान्ने?
यस्तै धादिङमा २०६० साल भदौमा आमाको किरिया बसेका कांग्रेस कार्यकर्ता मोतिराम सिलवालको अपहरणपछि माओवादीले हत्या गरे। नवलपरासीको सोमनी गाउँ घेरेर २०६२ बैशाखमा माओवादीले १४ देखि ४० वर्षसम्मका एघार पुरुषलाई लहरै उभ्याएर गोली हानेर मारे। यस्ता आततायी घटनालाई कसरी जनयुद्धभन्ने?
माओवादीले भनेको जनयुद्धमा विचार वर्जित थियो। फरक विचार राख्ने यदु गौतम वा गोपाल गिरीहरू बाँच्न पाएनन्। गिरिजाप्रसाद कोइरालाको पुत्ला रत्नपार्कमा धेरै डढे तर पुष्पकमल दाहालको पुत्ला जलाउने गणेश चिलुवालले मारेरै छाडियो। शिक्षाको ज्योति दिने तर माओवादी कार्यकर्ताको उर्दी स्वीकार गर्न नसक्ने मुक्तिनाथ अधिकारीजस्ता गुरुहरु मारिए। बाग्लुङमा जनमोर्चाका कार्यकर्तालाई काठ रोप्ने बर्माले खोपियो। माओवादीले स्कुल र रेडक्रसका बस जलाए। व्यस्त राजमार्ग, सहरका चोक र स्कुलमा समेत बम राखे। त्यही कारण दर्जनौं विद्यार्थी र जनसाधारणको मृत्यु भयो। चितवनको बादरमुढेमा माओवादीको धरापमा परी यात्रुबाहक बस विस्फोट हुँदा ३८ जना मरे जसमा ३५ जना सर्वसाधारण थिए। सार्वजनिक बसमा नै आक्रमण गर्दा दोलखाको मैनापोखरीमा छ सर्वसाधारणसहित आठ सुरक्षाकर्मी मरे। महेन्द्रनगरमा एउटा जीप धरापमा पर्दा ११ सर्वसधारण मरे। अमेरिकी नियोगमा कार्यरत भएकै कारण दिपक पाखरेल र रमेश मानन्धरको माओवादीले हत्या गरे।
माओवादीले बिनाकसुर पोखरामा उपप्राध्यापक इन्द्रबहादुर आचार्यलाई गोली हानेर मारे। पण्डित नारायण पोखरेलजस्ता समाजसेवी यही विध्वंसको सिकार भए। हचुवाका भरमा दुनियालाई दुस्मन र सुराकीको घोषणा गर्दै माओवादीले समाज जोड्ने सेतुहरूलाई अंगभंग बनाए या हत्या गरे। माओवादीले 'सम्पन्न देश बनाउन' पुल काटे, बाटो भत्काए। छोराहरू सुरक्षाकर्मी भएकै कारण बाबुआमालाई गाउँघरबाट खेदेर बिचल्लीमा पारे। संचारका उपकरण ध्वस्त बनाए। अधिकांश गाविस भवनमा आगो झोसे। उनिहरुले २०५८ सालमा कर्णालीको पुल काटिदिएपछि लठ्ठाबाटै आवतजावत गर्न बाध्य तीसौं जना मरे।
स्कुल बन्द गरेर विद्यार्थीलाई बलजफि्त अपहरण गर्नु, शिक्षकहलाई मासिक पैसा बुझाउन बाध्य पार्नु , ढाट खडा गरेर पर्यटक र स्थानियवासी या व्यापारीसँग मनपरी कर असुल्नु, कथित जनसरकार निर्माण गरेर बलजफ्ती त्यसमा सिधासाधा गाउँलेलाई संलग्न गराउनु , आधारातमा डाँडामा विष्फोट गरेर दुनियालाई आतंकित पार्नु माओवादी चर्या भयो। यी त केही प्रतिनिधि घटना मात्र हुन्। प्रारम्भमा केही सकारात्मक देखिएको उसको 'युद्ध' विस्तारै पाशविक र क्रुर हुन थाल्यो। उत्तरार्द्धमा समाजमा टिक्न नसकेका र अपराधी प्रवृत्ति भएकाको संलग्नता बढ्नाले त्यो युद्ध झनै विद्रुप हुन पुग्यो।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा तत्कालीन संयुक्त जनमोर्चा, नेपालले राज्यसँग केही राजनीतिक तथा जनजीविकाका सबालसहितको चालिस बुँदे माग प्रस्तुत गरेको थियो। ती माग जायज पनि थिए। ती मागमध्ये राजपरिवारको विशेषाधिकार कटौती अरू सबै २०४७ कै संविधानमा टेकेर पूरा गर्न सकिने थिए। तिनै माग पूरा गराउन यत्रो नरसंहार र विध्वंश आवश्यकै थिएन। यसर्थ, मानवीय संवेदना भुलेको उक्त दश वर्षे विद्रोह जनता हार्ने युद्धथियो। हतियारका दलाल पोस्ने युद्ध थियो। जनताको युद्ध थिएन त्यो।
राजतन्त्र फयाँक्न र नेपाललाई गणतन्त्रात्मक बनाउन संसद्वादी दलहरूसँगै शान्तिपूर्ण जनआन्दोलनमा मिसिनु नै पर्‍यो भने त्यो युद्धको औचित्य कसरी पुष्टि हुनसक्छ? युगले माओवादीसँग सोधेको प्रश्न हो यो। भन्न त पंचहरूले पनि पञ्चायतलाई 'माटो सुहाउदो शासन' र जरैदेखि उठेको प्रजातन्त्र भन्थे। राणाहरू पनि आफ्नो जहानिया शासनलाई उचितै मान्थे। यसर्थ, माओवादीले पनि आफूले चलाएको ध्वंसलाई जनयुद्धभन्नु अनौठो भएन। तर स्वतन्त्र नागरिक र कलमजीवीले छातीमा हात राखेर भन्न सक्नुपर्छत्यो जनयुद्ध थिएन।