2011-01-11

गन्थन

Subodh Raj Pyakurel – Google Buzz   Dec 24, 2010
०६७ पुष ९ गते (डिसेम्बर २४) अखिल (एमाले ) का तन्नेरीहरूले १२ बजे सम्मलाई फुर्सत मिलाई दिए. धन्य होस्! माओवादीको जतिसुकै बिरोध गरेपनि अन्तत:सबैले उसैलाई पछ्याउदा छन् भन्ने कुरा साबित भयो. अपस्तमा झगडा गर्ने अनि सास्ती चाहिं बे-सरोकारका जनतालाई दिने काइदा पनि गज्जब कै छ नेपालमा. लाठी, खुकुरी लिएर कलेज जाने आफ्ना सन्तानलाई घोक्र्याएर निकाल्ने साहस अभिवावकहरुमा नआउन्जेल यस्तै हुनेछ. लाज पचेका नकच्चरा विद्यार्थीले देश बनाउछौं भन्नु र राजनीतिक दल हरुले हामी तिनको तगडा नायक हौं भन्नु जस्तो पातकी कर्म अरु के हुन सक्छ? सक्ने ज्यान भएका तन्नेरी मुलुक बाहिर कुल्ली हुन गैसके. पढालूहरुले बिदेशमै नाम लेखाएर पढ्ने बहानामा देश छाडी सके. क्षमतावानहरुले परदेशमै जागीर खोजेर बिदा भईसके. हाम्रा तन्नेरी कहिले विस्तारवादले सबै पानी लाग्यो भन्दै नेताका लहै लहैमा जल-बिद्युत परियोजनामा झन्डा गाड्दै रोक्न कुद्छन, कहिले
कलेजलाइ ब्यारेक बनाउछौं भन्दै सडक गल्लीमा डुक्रन्छन. नेताले मात लाग्ने पानी दुतावासमा तुन्क्याउछन्, तन्नेरी पानी पानी भन्दै चिच्याउछन्. आन्दोलन गर्न पैसा बटुल्ने हुकुमनामा नेताले जारी गर्छन अनि पुँजीपति - दलाल नोकरशाह - विस्तारवादी बिरुद्ध आन्दोलन गर्न तिनै जनताका बिरोधी भनिएकाहरुको ढोका- ढोकामा भिक्षाटन गर्न नेताका आदेश बमोजिम तन्नेरीहरु बामे सर्दै पुग्छन. यो भन्दा टिठ लाग्दो पीडा के हुन सक्छ हाम्रा लागि? अचम्भ छ बा! "सर्वहाराका मसिहा"का पिछलग्गु बनेका तन्नेरी देख्दा त मनै रुन्छ. फोकटमा आलिशान बसाई, स्वादिष्ट भोजन, महँगो सवारी, सित्तैको रामरमिता नेताहरुले जुराएकै छन्. सर्वहाराको नाममा तिनै गरीबको टाउकोमा हग्ने नकच्चराहरुको भ्रम बाट यो देशका जनता मुक्त नहुन्जेल हाम्रो खैरांत छैन. सबैमा चेतना आओस.
====================================
Vishnu Pyakurel – Google Buzz   Jan 10, 2011
दाजु यहाँले उठान गर्नु भएका माथिका कुराहरूका लागि चेतना र सामाजिकताको नितान्त आवश्यकता हुन्छ । जुनकुरा यहाँले नै भनी सक्नु भएको छ, त्यो यी मती भ्रष्टहरूमा कहिल्यै पलाउन सकेन ।
कलेज र विध्यालयहरू नेता जन्माउने अखडा बनाएका छन् । विध्यार्थी नेताका नाममा कलेजहरूमा मात्र भर्ना हुने तर नोटबुकका ठामा दलका पर्चा, विधान र पम्पलेटहरू झोला भरी बोकेर जाने अनी जबरजस्ती भिड र हूल जम्मा गरी नेतागीरी गर्ने यो हालको क्याम्पसिय परम्परा हो । जुन दुःख जेलो गरेर वास्तविक रूपमै उच्च शिक्षा अध्ययन गर्न जानेहरूका लागी भाइरस बनेका छन् दल र तीनका चेला-चपाटीका रूपमा बसेका हस्ताक्षरहरू ।
अचेतन लठेतहरूको ग्याँग अर्थात् हाम्रा नेताहरू , हजुरले भने जस्तै मात लाग्ने पानी दुतावासमा तुन्क्याउछन्, तन्नेरी पानी पानी भन्दै चिच्याउछन् हो यहाँ यस्तै भइरहेको छ । अर्को कुरो विदेशीनु बाध्यता नै भइसक्यो हामी समान्य तर पहुँच नै नपुगेका आम सामान्य नागरिकले । जागीरका लागी कित बिटो चाहियो कि त नेता वा कुनै हाकिमका नातेदार हुनु पर्यो । नत्र उपाय नास्ती । विकल्प वैदेशिक रोजगार जिन्दावाद भन्दै म्यनपावरको हारगुहार गर्नै पर्छ ।
दाजु, फोकटमा आलिशान बसाई, स्वादिष्ट भोजन, महँगो सवारी, सित्तैको रामरमिता यही त हो नी नेपाली नेताको परिभाषा । भोलिका पिढिहरूका लागि आजको राजनीति र नेताको परिभाषा बुझाउनु परे बडो सहज छ, नेता भनेको जनपिपासु हो , र राजनीति भनेको ठगी र लुटको अखडा । कति सहज छैन त ?
भ्रष्टाचार मानौँ उत्तम खेती हो नेपालमा । त्यो पनि विकासे मल हालेर गाँजिएको मूला जस्तो । लुट, भ्रष्टाचार, जनताको कर तिरोबाट आएको राजस्व सित्तैँमा म्याद थपी थपी निर्लज्ज तवरमा पचाउनु, जबरजस्ती बन्दुकका भरमा चन्दाका नाममा धन्दा गर्नु, स्मगलरहरू, हत्यारा, आपराधिक गतिविधिमा संलग्न आततायीहरूलाई राजनैतिक पृष्ठपोषण गर्नु, फुकुवा गर्ने दबाब दिनु जस्ता कार्यहरू नै आजको राजनीतिको परिभाषा हो भनेर भोलिका पीढीहरूलाई पढाउनु पर्ने बेला आइ सकेको छ ।
क्रमशः अर्को पटकलाई
जदौ
विष्णु प्याकुरेल