2010-01-11

प्रेमपत्र (कवी विक्रम शुब्बा)

प्रेमपत्र -कवी विक्रम शुब्बा
मानिसलाई कैद गर्ने
फैसला लेखिरहेछ न्यायाधीश
चाकडीका पर्दाहरु थिचेर हार्मोनियमका
संगीतकार कुनै नवाबको गीतमा संगीत भरिरहेछ
गीतकार भ्यात्तेकुर्सि बीकस दिनेको नाममा गीत लेखिदिँदैछ
बिलमा मन्त्रीको दाम लेखिरहेछ व्यापारी
गायक ठूलो जागीर दिनेको गीत गाइरहेछ
प्रोफेसर विषालु शोधपत्र लेखाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र लेखिरहेछु !



नेता केटीहरुलाई वेश्यालय पठाइरहेछ
बाबु छोरालाई दर्बानालय पठाइरहेछ
सरकार युवक बेच्ने-किन्ने
सम्झौता नवीकरण गर्न प्रतिनिधि पठाइरहेछ
छोरो अस्पतालमा पुर्याएकै दिन
आमा स्वर्गे भएको खबर घरतिर पठाइरहेछ
एउटा म छु एकान्त कुनामा
तिमीलाई प्रेमपत्र पठाइरहेछु !
सपना एउटा नौलो मानिस पर्खिरहेछ
छोरीको यौवन बलात्कार पर्खिरहेछ
सबै किसिमका नदीहरुमा
एकैचोटि आउने बाढी देशले पर्खिरहेछ
मसानघाट प्रजातन्त्रको लास पर्खिरहेछ
एउटा म छु एकान्त कुनामा
तिम्रो प्रेमपत्र पर्खिरहेछु !
पुरस्कृत सफल भ्रष्टाचारी प्रशंसा-पत्र चुमिरहेछ
सम्मानित स्मगलर अभिनन्दन-पत्र चुमिरहेछ
हाकिमको पाउ चुमिरहेछ जागिरे
चुमिरहेछ बन्दुकले मानिसको छाती
म छु एउटा एकान्त कुनामा
तिम्रो प्रेमपत्र चुमिरहेछु !
धूर्तताको बाइबल पढिरहेछ पादरी
मौलवी जल्लादहरुसँगै कुरान पढिरहेछ
सुनको धम्मपद पढिरहेछ लामा
ब्राहृमण पढिरहेछ षडयन्त्रको गीता
म छु एउटा विक्रम एकान्त कुनामा
तिम्रो प्रेमपत्र पढिरहेछु !

1 comment:

  1. कवी विक्रम शुब्बा प्रती अनुग्रहित छु, मेरो ब्लगमा पोस्ट गर्ने अनुमती दिनु भएर मलाइ निकै ठूलो गुण लाउनु भएको छ ।

    ReplyDelete


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।