2015-08-19

" महाभारतमा " शासकीय दण्ड सजायको अबधारणा - प्रवीण अधिकारी

" महाभारतमा " शासकीय दण्ड सजायको अबधारणा
=================================
भनिन्छ जहाँका शासक अन्यायी हुन्छन त्याँहा नुन र चिनीले पनि आफ्नो नैसर्गिक स्वाद त्याग्दछन् ‘ ! यो भनाइ नेपाली साशक बर्गहरुको परिप्रेक्ष्यमा हुबहु मेल खान्छ !
कुनै पनि शासकीय व्यवस्थामा दण्ड -सजायको व्यवस्था अपरिहार्य तत्व हो ! मनुस्मृतिले गरेको व्यवस्था हिंजो उल्लेख गरेको थिएँ ! आज महाभारतमा दण्ड र सजायको सम्बन्धमा भएको चर्चा गर्दैछु !
महाभारतको आदिपर्वको ‘आस्तीक’ प्रकरणमा अर्जुनको पनाति ,
अभिमन्युको नाती एवं परीक्षितको छोरा राजा जनमेजयले सर्पयज्ञ गर्दा ऋषि आस्तीकले निष्प्रभावी तुल्याई दिएको प्रसंग उल्लेखित छ ! त्यो सम्पूर्ण कथा याँहा उल्लेख गर्न सम्भव त् छैन तर के कुरा सम्म उल्लेखित गर्न सकिन्छ भने शिकार खेल्न गएका राजा परीक्षित तिर्खाले ब्याकुल भइ थाकेर मौनव्रत सहित तपस्यामा रहेका ऋषि शमीकको काँधमा जवाफ नपाएको झोंकमा मरेको सर्प राखिदिन पुग्छन ! उक्त घटनाबाट क्षुब्ध
हुनपुगेका ऋषिपुत्र शृंगीले राजा परीक्षितलाइ श्राप दिन्छन तक्षक नाग ले डसेर उनको मृत्यु होस् भनेर ! पछि ऋषि शमीकले छोरा शृंगीलाइ सम्झाउदै परीक्षित् राजाको प्रशंसा गर्दछन र मुलुकको शासनको लागि राजा हुनु कति जरुरी छ ? र उ दण्ड सजायको अधिकारले सुसज्जित हुनु कति जरुरी छ ?यसै संदर्भमा भनिएका कुराहरु तल प्रस्तुत गरिएका ३ बटा श्लोकहरुबाट प्रष्ट्याउने प्रयास गरेको छु !
(महाभारत, आदिपर्व, अध्याय ४१ ):
अराजके जनपदे दोषा जायन्ते वै सदा ।
उद्वृत्तं सततं लोकं राजा दण्डेन शास्ति वै ॥२७॥
(अराजके जनपदे सदा वै दोषाः जायन्ते, राजा सततम् उद्वृत्तम् लोकम् दण्डेन वै शास्ति ।)
जुन देशमा राजकीय व्यवस्थाको अभाव हुन्छ त्यहाका प्रजाहरुमा दोष र अपराधी प्रवृत्तिले जरो गाडदछ ! उच्छृंखल या उद्धत जनसमूहलाइ राजालेनै दण्ड सजाय दिएर निरंतर अनुशासित राख्ने रणनीति अपनाउनु पर्दछ !
आजको नेपालमा राजाको स्थान चुनिएका शासकहरुले लिएका छन् ! यस अनुसार देश भित्रको अपराध रोक्ने र अपराधिहरुलाई दण्डित गर्ने र सजाय दिने काम तिनै हस्तीहरुले गर्नु पर्दछ ! यो हाम्रो दूर्भाग्य हो यी चुनिएका भनिएका जन्तुहरुले हाम्रो देशमा देखिएका अपराधी ,बिखण्डनकारी ,खुनीहरुलाई कसुर अनुसारको कैद सजाय गर्न सकेका छैनन् !
दण्डात् प्रतिभयं भूयः शान्तिरुत्पद्यते तदा ।
नोद्विग्नश्चरते धर्मं नोद्विग्नश्चरते क्रियाम् ॥२८॥
(दण्डात् भूयः प्रतिभयम्, तदा शान्तिः उत्पद्यते, उद्विग्नः धर्मम् न चरते, उद्विग्नः क्रियाम् न चरते ।)
दण्ड सजायको व्यवस्थाले अधिकांशलाइ डर उत्पन्न गर्दछ ! डरले शान्ति स्थापित हुन्छ ! उद्विग्न वा हठी व्यक्ति धर्माचरण बिहिन हुन्छन र त्यस्ता व्यक्तिले आफ्नो नागरीक कर्तव्यको निर्वाह गर्न सक्दैनन् !
कुनै कशुर गरीयो भने राज्यको कानुन अनुसार दण्डित हुनु पर्दछ भन्ने भय समाजमा व्याप्त रहंदा सम्म मान्छेमा अपराध गर्ने साहस सामान्यतः रहन्न ! समाजमा सुरक्षा र निश्चिंतताको भावना व्याप्त रहन्छ ! मान्छेले उचित-अनुचित छुट्याई विवेक प्रयोग गरेर आफ्नो कर्तब्य निभाउन सक्छन !
राज्ञा प्रतिष्ठितो धर्मो धर्मात् स्वर्गः प्रतिष्ठितः ।
राज्ञो यज्ञक्रियाः सर्वा यज्ञात् देवाः प्रतिष्ठिताः ॥२९॥
(राज्ञा धर्मः प्रतिष्ठितः, धर्मात् स्वर्गः प्रतिष्ठितः, राज्ञः सर्वाः यज्ञक्रियाः, यज्ञात् देवाः प्रतिष्ठिताः ।)
राजा द्वारा धर्म प्रतिष्ठित हुन्छ , धर्मको माध्यमले स्वर्गको प्राप्ति हुन्छ ! राजा द्वारानै सबै यज्ञकर्म संपन्न हुन्छन र यज्ञबाट देवतागण प्रतिष्ठित हुन्छन !
माथिका प्रथम दुइ श्लोकहरुमा उल्लेखित कुराहरु यस भौतिक संसारकोलागि महत्त्वपूर्ण रहेका छन् ! तेश्रो श्लोक मा दण्ड सजायको समुचित प्रयोगको महत्व परलोक एवं दैवी शक्तिहरुको संदर्भमा भनिएको हो ! पूर्वीय दर्शनमा स्वर्ग एवं नर्क जस्ता परलोकको अस्तित्व स्वीकारिएको छ र मान्छेले यसैलोकमा गरेका कर्मले नै उसको परलोक को मार्ग चित्र कोर्दछ ! अमूर्त दैवी शक्तिहरुको पनि पूर्वीय दर्शनमा स्थान छ ! मान्छेको कर्मनै उसको जीवन वृत्तिको आधार हो ! त्यसकारण राज दण्डको माध्यम द्वारा मान्छेलाई सत्कर्ममा लाउन सकिन्छ भन्ने अवधारणा ब्याप्त छ ! स्वर्गलोकको लागि तिनै कुराहरु परोक्षतः सहायक बन्न पुग्छन ! सामान्यतः यज्ञको अर्थ देवताहरुलाई प्रसन्न गर्नकालागि प्रज्वलित अग्निमा हालिने घृतादि (जौ ,तील ,चामल ,घिउ )को आहुति द्वारा गरिने कर्मकाण्ड यज्ञ संग सम्बन्धित कर्म हो ! तर यज्ञको अर्थ अझ व्यापक मानिन्छ ! बिभिन्न उद्देश्य प्राप्तिका लागि गरिने सद कर्महरुलाई पनि यज्ञनै भनिने गरीन्छ !
माथी उल्लेख गरिएका कुराहरुको तात्पर्य के हो भने समाज माथि शासन गर्नेहरुले अनुचित काम गर्नेलाई दण्ड सजाय गरेर आम जनतालाई सुरक्षाको अनुभूति दिनै पर्छ !
- प्रवीण अधिकारी ज्यूको फेसबुक वालबाट