2015-09-26

बैदिक र पौराणिक कृत्य (प्रेत ,पितृ , श्राद्ध , सोह्र श्राद्ध) - प्रवीण अधिकारी

बैदिक र पौराणिक कृत्य  

प्रेत ,पितृ , श्राद्ध , सोह्र श्राद्ध 
जीवन र मृत्यु दुवै यस ब्रह्माण्डका अकाट्य सत्य हुन् ! यही अकाट्य सत्य स्वीकार्दै सनातन हिंदू धर्म-दर्शनले जसको जन्म हुन्छ उसको मृत्यु र जसको मृत्यु हुन्छ उसको जन्म पनि निश्चित भएर सांसारिक प्रक्रिया निरन्तर चलीरहन्छ भन्ने मान्यता राख्दछ ! यस जगतमा त्यस्ता धेरै थोरै भाग्यमानी पनि हुन्छन जो यो पूनर्जन्म र मृत्युको चक्रमा नछिरी मोक्ष प्राप्त गर्न पुग्दछन ! सनातनी हिन्दू परीवारले कसैको मृत्यु भएमा ती मृत आत्माहरुको बैदिक तरिकाले श्राद्धादी दश गात्र कर्म नगर्ने , पूर्वजहरुलाई न संझिने , वार्षिक श्राद्ध आदि कर्म नगर्नेका घरमा अशांति , वंश - वृद्धिमा रूकावट , रोग - ब्याध आकस्मिक बीमारी, संकट, परिवारमा आइरहन्छन भन्ने मान्यता बोक्दछ र शास्त्रले पनि यहिकुरोलाई पुष्टि गर्दछ !

प्रेत :
पौराणिक मान्यता अनुसार दाह संस्कार गरिसके पछि मृतात्माले वायुको स्वरुप धारण गर्दछ ! त्यो बायु ततकालकोलागि प्रेत कहलिन्छ ! "प्रेत" भनेको आत्माको त्यो अवस्था हो जो मृत्यु पछि गरिने दश गात्रादी कर्महरु अर्थात प्रथम षोडशी देखि सपिंडीकरण सम्म प्रथमतः ११/१२ दिन रहने गर्दछ ! त्यसैले मृत आत्माले सूक्ष्म शरीर धारण गरी सके पछी पनि उ भित्र मोह, माया , भोक , प्यास रही रहन पुग्छ र त्यो प्रेत स्वरुप आत्मा पितृहरुसंगको सम्मिलन भएपछी तथा एक बर्षको और्द्धदैहिक क्रिया सकिएपछि मात्र अन्य पितृहरुको थान्कोमा रहन पुग्दछ वा चक्रिय व्यवस्था अनुरुप अन्य योनीमा जन्म लिन जान्छ भन्ने बिश्वास सनातनी हिन्दू समाज र ग्रन्थहरुले गर्दछ !

पितृ र श्राद्ध :
स्थूल शरीरबाट आत्मा उडनु , त्यस शरीरको अन्त्येष्टि संस्कार गरिनु र दाह संस्कार गरि सकेपछि मृत आत्माको तृप्तिकोलागि और्द्धदैहिक क्रिया कर्म श्रद्धापूर्वक सम्पादन गरिने प्रेत र पितृ कर्म श्राद्ध हो तथा जुन मृत व्यक्तिको एक वर्ष सम्मको सबै और्ध्व दैहिक क्रिया-कर्म सम्पन्न गरि सकीएको हुन्छ ति पितृ हुन् ! श्राद्ध सम्बन्धमा भनिएको छ - " श्रद्धया इदं श्राद्धम्‌ "(जे कुरा मृत व्यक्तिलाई श्र्द्धाले दिइन्छ त्यो श्राद्ध
हो ) ! जन्मदाता माता-पिता मृत्यु-पश्चात विस्मृत नहुन् , उनीहरु प्रति यथोचित सम्मान र श्रद्धा निरन्तर रहोस भन्ने भावना राखेर तिनलाइ सम्झिने , श्रद्धा गर्ने काम श्राद्ध हो भनि तत तत ग्रन्थहरुमा बिस्तृत रुपमा वर्णित छ ! मत्स्य पुराण " त्रिविधं श्राद्ध मुच्यते " भनी तीन प्रकारको श्राद्ध नित्य, नैमित्तिक एवं काम्य भनी बताउछ भने यम स्मृतिमा पांच प्रकारका श्राद्धहरुको वर्णन छ , जसलाई नित्य, नैमित्तिक, काम्य, वृद्धि र पार्वण भनिन्छ ! नित्य श्राद्ध- प्रतिदिन गरिने श्राद्ध हो ! यो श्राद्धमा विश्वेदेवलाइ स्थापना गरिन्न ! यो श्राद्ध मात्र शुद्ध जल द्वारा सम्पन्न गरिन्छ ! नैमित्तिक श्राद्ध- कसैलाई निमित्त बनाएर जसले श्राद्ध गर्दछ त्यसलाई नैमित्तिक श्राद्ध भनिन्छ ! यसलाई एकोद्दिष्ट पनि भनिन्छ ! एकोद्दिष्टको मतलब कुनै एक लाइ निमित्त मानेर गरिने श्राद्ध जस्तो कसैको मृत्यु भएर गरिने दशगात्र , एकादश ( बृशोत्सर्ग )आदि एकोद्दिष्ट श्राद्ध अन्तर्गत आउछन ! यसमा पनि विश्वेदेवलाइ स्थापना गरिन्न ! काम्य श्राद्ध- कुनै बिशेष कामना पूर्ति गर्न गरिने श्राद्ध ! बृद्धि श्राद्ध शुभ कर्मको पूर्व तयारी हो भने पार्वण श्राद्ध औंशी र आश्वीन कृष्ण पक्षमा गरिने महालय श्राद्ध हो !


पितृहरुको किसिम 
मृत आत्माको तृप्तिकोलागि और्द्ध दैहिक क्रिया कर्म तथा श्रद्धापूर्वक सम्पादन गरिने प्रेत र पितृ कर्म श्राद्ध हो र जुन मृत व्यक्तिको एक वर्ष सम्मको सबै और्ध्व दैहिक क्रिया-कर्म सम्पन्न गरि सकीएको हुन्छ ति पितृ हुन् ! श्राद्धादी कर्ममा आफ्नी बिबाहिता पत्नीद्वारा दूधमा चामल पकाई त्यसमा सरोवर तील मिसाई बटारेर डल्लो पारी मास्तिरबाट कुश राखेर तयार गरी पितृहरुलाई अर्पण गरिनु पिण्ड हो र याँहा 'पिण्ड' को अर्थ हो शरीर ! सनातन हिन्दू शास्त्रले पितृहरुलाई देवताहरु सरह पूज्य मान्दछ ! 'पितृ' को शाव्दिक अर्थ पिता हो ! हाम्रा शास्त्रहरुले पितृहरुलाइ दुई रुपमा बर्णन गरेको भेटिन्छ !
एउटा - दिब्य पितृ 
अर्को - मनुष्य पितृ
यो लोकमा दिब्य पितृको काम न्याय दिनु हो भने लौकिक पित्रिहरु बंश परम्पराका उन्नायक हुन् ! आफ्नो बंश परमपरामा कुनै व्यक्तिको अगाडिको तिन मृत पुस्ता पितृ हो र मानव जातिको प्रारम्भ कालका पृथक लोकमा रहने कल्पित पितृ देव पितृहरु हुन् ! दिव्य पितृ त्यो समुहको नाम हो जो जीवधारिहरुको कर्म विचारेर मृत्यु पछि उसलाई के गति दिने हो निर्णय गर्दछन ! यस जमातका प्रमुख यमराज हुन ! यसैकारणले यमराजको गणना पित्रिहरुमा गरिएको हुन्छ ! काव्यवाडनल, सोम, अर्यमा र यम- यिनीहरु यस जमातका सदस्य हुन ! याँहा उल्लेख गरिएका बाहेक चारैको तर्फबाट सुनवाई गर्ने हुन अग्निष्व, देवताहरुका प्रतिनिधि, सोमसद या सोमपा-साध्यहरुका प्रतिनिधि तथा बर्हिपद-गन्धर्व, राक्षस, किन्नर सुपर्ण, सर्प तथा यक्षहरुका प्रतिनिधि ! यी सबै मिलेर गठन गरेको दिब्य पितृ गण हुन ! इनले मानव मात्रलाई न्याय प्रदान गर्ने भएकाले अग्रिष्वात्त, बर्हिषद आज्यप, सोमेप, रश्मिप, उपदूत, आयन्तुन, श्राद्धभुक तथा नान्दीमुख यी नौ दिव्य पितृहरु भनिएको हो ! आदित्य, वसु, रुद्र तथा दुवै अश्विनी कुमारहरुले पनि नांदीमुख पितृलाई छोडेर शेष सबैलाई तृप्त गर्दछन !
ऋग्वेदमा दिब्य पितृ गण निम्न, मध्यम एवं उच्च तीन श्रेणिहरुमा बाडिएको छ ! तिनलाई प्राचीन,
पश्चात्यकालीन एवं उच्चतर भनिन्छ ! इनको सम्बन्ध अग्नि संग गाँसिएको देखाइएको छ ! त्यस्ता पित्रिहरु हुन् अंगिरस्, वैरूप, भृगु, नवग्व एवं दशग्व ! अंगिरस् यम संग सम्बन्धित हुन्छन त्यसकारण यज्ञादी कर्ममा संगै बोलाइञ्छन ! अंगिरस् पनि दुइ किसिमका रहेका छन् ! नवग्व एवं दशग्व। यी कुशमा बसेका हुन्छन ! यी अग्नि एवं इन्द्र संगै यज्ञादी कार्य गरिदा आहुति लिन आउछन भन्नेकुरा ब्राह्मण ग्रन्थहरुमा वर्णित भेटिन्छ ! वैदिक वा देव पितृहरुका श्रेणी सोमवन्त:, पितर: बर्हिषद: एवं पितर: अग्निष्वात्ता: !

नन्दीपुराण (हेमाद्रि) अनुसार ब्राह्मणका पितृ अग्निष्वात्त, क्षत्रियका बर्हिषद्, वैश्यहरुका काव्य, शूद्रहरुका सुकालिन: तथा म्लेच्छ एवं अस्पृश्यका वैदिक पित्री व्याम हुन् ! मनु स्मृतिमा उल्लेख गरीए अनुसार सोमपा:, हविर्भुज:, आज्यपा: अर्यमा: एवं सुकालिन: हुन् ! यस बाहेक ब्राह्मण हरुका अनग्निदग्ध, अग्निदग्ध, काव्य बर्हिषद्, अग्निष्वात्त एवं सौम्य हुन् ! शातातपस्मृतिमा पितृहरु पिण्डभाज:, लेपभाज: , नान्दीमुख एवं अश्रुमुख ! स्कन्द पुराणमा पितृहरुको किसिम ९ किसिमको छ - अग्निष्वात्ता:, बर्हिषद:, आज्यपात्, सोमपा:, रश्मिपा:, उपहूता:, आयन्तुन:, श्राद्धभुज: एवं नान्दीमुखा:। मनुस्मृतिमा भनिएको छ - ऋषिहरुबाट पितृहरुको उत्पति भयो ! पितृहरुबाट देउता र मान्छे उत्पति भए र देउताबाट सम्पूर्ण स्थावर जंगम सम्पूर्ण ब्रह्माण्ड उत्पत्ति भयो !
महाभारतमा भगवान श्री कृष्णले आफ्नो परिचय दिंदै भनेका छन् :-
अनन्तश्चास्मि नागानां वरुणो यादसामहम् ।
पितृणामर्यमा चास्मि यमः संयमतामहम् ॥ 29 ॥ - गीता

हे धनंजय ! नागहरुमा म शेषनाग हुँ , जलचरहरुमा म वरुण हुँ ; पितृहरुमा म अर्यमा तथा नियमन गर्नेमा म यमराज हुँ ! याँहा अर्यमा भनेको आश्विन कृष्ण प्रतिपदा देखि अमावस्या सम्म सूर्यको किरण (अर्यमा) र किरण संगै पितृ प्राण पृथ्वीमा व्याप्त हुने गर्दछ ! अर्यमा पित्रिहरुमा श्रेष्ठ हुन ! यी अर्यमा पित्रिहरुका देउता पनि हुन ! यी महर्षि कश्यप की पत्नी देवमाता अदितिका पुत्र हुन र इंद्रादि देवताहरुका भाई ! पुराण अनुसार उत्तरा-फाल्गुनी नक्षत्र इनको निवास स्थान हो ! इनको गणना नित्य पितृहरुको रुपमा गरिन्छ ! यस जड़-चेतनमयी सृष्टिमा , शरीरको निर्माण नित्य पितृ ले नै गर्दछन ! यी प्रसन्न हुँदा पित्रिहरु तृप्त हुन्छन ! श्राद्धादी कर्म गर्दा इन्लाई तर्पण दिइन्छ ! यज्ञादी कर्ममा मित्र (सूर्य) तथा वरुण (जल) देवता को साथ स्वाहा गरिएको 'हव्य' र श्राद्धादी कर्ममा स्वधाका साथ् 'कव्य' दुवै स्वीकार गर्दछन !

सोह्र श्राद्ध / महालय / पार्वण:
सनातनी हिन्दु क्रित्यहरुको उल्लेख गरिएको ग्रन्थमा भाद्र शुक्ल पूर्णिमा देखि आश्विन कृष्ण औंशी सम्म १६ दिन ब्रह्माण्डको ऊर्जा तथा त्यस उर्जा संग समस्त लौकिक पितृ गण पृथ्वीमा रहने गर्दछन भन्ने बर्णन छ ! यस अर्थमा भाद्र पूर्णिमा देखि आश्विन औंशी सम्म पित्रिहरु जागृत भएर रहन्छन ! जसमा पित्रिहरु देवलोक देखि हिडेर पृथ्वीको परिधिमा सूक्ष्म रूपमा उपस्थित हुन् आउछन तथा भोज्य पदार्थ एवं शुद्ध जल आफ्ना बंशजहरुका हातबाट श्रद्धा रूपमा स्वीकार गर्दछन ! त्यसैकारण भाद्र पूर्णिमा देखि आश्विन कृष्णपक्षको १६ दिन पितृपक्ष (पितृ = पिता) भनि प्रचलित छ ! यो १६ दिन व्यक्तिले जुन दिन / तिथिमा आफ्ना मातृकुल ,पितृ कुलका स्वजन तथा माता-पिता बितेका हुन्छन पितृपक्षको त्यहि तिथिमा उनीहरुको श्राद्ध गर्ने गर्दछन ! आफ्ना त्यस्ता पूर्वजहरुलाई जल , तिल ,कुश , गाईको दूधमा पकाएको पिण्ड , तर्पण स्वजन सहित आफ्ना दिबंगत पितृहरुलाई एउटै मृत्युतिथिमा दिइदा त्यसैलाई पार्वण वा महालय श्राद्ध भनिन्छ ! पितृपक्षमा दिव्य पितृ तर्पण, देव तर्पण, ऋषि तर्पण र दिव्य मनुष्य तर्पण गरिसकेपछि स्व-पितृ तर्पणका लागि तीन पीढ़ि सम्मका माता पिता पक्षका पूर्वजहरुलाई तर्पण दिने गरिन्छ ! माता-पिताको सेवालाइ महत्व दीएको कारण हिंदू धर्म शास्त्रमा पित्रिहरुको उद्धार गर्न पुत्र अनिवार्य चाहिन्छ भनिएको हो !
" एकैकस्य तिलैर्मिश्रांस्त्रींस्त्रीन् दद्याज्जलाज्जलीन्। यावज्जीवकृतं पापं तत्क्षणादेव नश्यति ।" 
अर्थात् जसले आफ्ना पितृहरुलाई जौ ,तिल-मिश्रित जल तीन-तीन अञ्जुली प्रदान गर्दछ उसको जन्मे देखिको तर्पण गरिएको दिन सम्मको सम्पूर्ण पापहरु नाश हुन् पुग्दछ !

वैज्ञानिकता भित्र श्राद्ध :
सनातन हिन्दू मान्यता अनुसार प्रत्येक पिढिका मान्छेमा उसको अघिल्लो पिढिको मातृ कूल र पितृ कूलको 'गुणसूत्र' समन्वित भएको हुन्छ भन्ने कुरा यथार्थ हो ! गुणसूत्र र जीन ( Chromosomes and Genes ) को अर्थ हो त्यस्तो सूत्र वा संरचना जसले आफ्ना सन्ततिमा बाबु आमाको गुण पुर्याउने काम गर्दछ ! गुणसूत्र (क्रोमोजोम) इंट्रासेल्युलर वस्तुहरु , गुणसूत्रहरुको (chromatin) एक आनुवंशिक स्वभाव हो , यसको सार deoxyribonucleotidyl हो , nucleoprotein रचना गरेर नाभिक भएर सन्तानमा पुर्याउछ ! पुरुष बर्गमा २ ३ जोडी गुणसूत्र हुन्छन ! प्रत्येक जॊडीमा एउटा गुण सूत्र आमाबाट र अर्को गुणसूत्र बाबुबाट प्राप्त गर्दछ ! यस प्रकार प्रत्येक कोशिकामा कूल ४ ६ गुणसूत्र हुन् पुग्छन ! जसमा २ ३ आमा बाट २ ३ बाबुबाट आउद्छन ! कूल जोडा २ ३ छन् भने यी २ ३ मध्ये एक जोड़ा लिंग गुणसूत्र हो जसले जन्मिने संतानको लिंग निर्धारण गर्दछ अर्थात छोरा हुन्छ कि छोरी !
यदि यो एक जॊडामा गुणसूत्र xx छ भने जन्मिने सन्तति छोरी हुन्छे र यदि xy छ भने छोरा हुन्छ ! ती दुईमा x सामान छ ! जो जन्मिने बच्चाले आमा बाट पाउछ र शेष रहन पुगेको बाबुबाट पाउछ ! अब यदि बाबुबाट प्राप्त गरेको गुण सूत्र x छ भने xx मिलेर स्त्रीलिंग निर्धारित हुन् पुग्छ र यदि बाबुबाट y गुण सूत्र पाएको हो भने पुर्लिंग हुन् पुग्द्छा ! यसरी x छ्रीको लागि y छोराको लागि निर्धारित हुन् पुग्दछ ! यस प्रकार छोरा वा छोरी जन्मिनु पूर्णतया बाबुबाट प्राप्त हुने x अथवा y गुणसूत्र माथि निर्भर रहन पुगेको हुन्छ ! यहि कुरा हृदयंगम गरेर हाम्रा ऋषि मुनिहरुले पितृ सम्मान स्वरुप श्राद्ध गर्ने परिपाटी चलाएर गए ! याँहा श्राद्ध भनेको त्यस्तो वेद निर्दिष्ट प्रतीकात्मक अनुष्ठान हो जसले श्राद्ध गर्ने व्यक्तिको शरीरमा जुन जुन व्यक्तिको गुणसूत्र (जीन्स) रहन्छ त्यस्ता व्यक्तिको अस्तित्व स्वीकारेर तिनको तृप्तिकोलागि पिण्ड सहितको तर्पण , मार्जन , श्रद्धा सुमन अर्पण गर्ने गरीन्छ !

प्रमुख पितृ अर्यमा भनेको नै सूर्य : - 
चन्द्र मास अनुसार सूर्यको नाम पनि अर्यमा हो ! अर्यमा श्रेष्ठ देवत्व पितृ पनि हुन् ! वैदिक बांग्मय अनुसार - चैत्र महिनामा धाता, वैशाखमा अर्यमा, ज्येष्ठमा मित्र, आषाढ़मा वरुण, श्रावणमा इंद्र, भाद्रपदमा विवस्वान, आश्विनमा पूषा, कार्तिकमा पर्जन्य, मार्गशीर्षमा अंशु, पौषमा भग, माघमा त्वष्टा एवं फाल्गुनमा विष्णु स्वरुपका हुन्छन ! यी नामहरुले सूर्यलाइ अर्घ्य दिने विधान हाम्रो समाजमा प्रचलित छ ! सूर्यको प्रकाश जुन यो भूतलमा आउछ त्यो नै अर्यमा हो ! अर्यमा यस भूमंडलमा सर्बब्यापी भएका कारण आदि दीव्यपितृको रुपमा बैदिक कालदेखि पूजित छन् र ईन्द्रादि देवता संगै यज्ञादी कार्यमा हवी ग्रहण गर्दछन !

श्राद्धको किसिम: 
वृद्धि श्राद्ध- वास्तु प्रवेश, उपनयन , विवाहादि मांगलिक कार्य तथा ठूला ठूला देव कार्य थाल्नु अघि तथा प्रत्येक शुभ कार्यमा पितृ प्रसन्नार्थ जुन श्राद्ध गरिन्छ त्यसलाई वृद्धि श्राद्ध , नान्दीश्राद्ध या नान्दीमुखश्राद्ध भनिन्छ ! पार्वण श्राद्ध- पार्वण श्राद्ध पर्व संग सम्बन्धित हो ! कुनै पर्व जस्तो पितृपक्ष, अमावास्या वा कुनै पर्व तिथि आदिमा गरिने श्राद्ध पार्वण श्राद्ध भनिन्छ ! यो श्राद्ध विश्वेदेव सहित गरिन्छ ! सपिंडीकरण श्राद्ध- सपिंडीकरण शब्दको अर्थ प्रेत पिण्ड पित्रिहरुमा मिलाउने भन्ने हो ! पितृहरुको हैशियतमा पुर्याउने प्रक्रिया सपिंडीकरण हो ! यसमा प्रेत पिण्डलाइ पितृ पिण्डमा मिलाइन्छ !
धर्मसिन्धु अनुसार श्राद्धको ९६ बटा अवसर हुन्छन !
एक वर्षको औंशी (१२ )
पुणादितिथिहरु (४ ),
'मन्वादि तिथिहरु (१४ )
संक्रान्तिहरु (१२ )
वैधृति योग (१२ ),
व्यतिपात योग (१२ )
पितृपक्ष (१५ ),
अष्टकाश्राद्ध (५ )
अन्वष्टका (५ ) तथा
पूर्वेद्यु:(५ )
जम्मा ९६ वॊटा ! यस अनुसार पितृ सन्तुष्ट बनाउने विभिन्न पित्र-कर्म विधान छन् ! पुराणोक्त पद्धति अनुसार निम्नांकित कर्म गरिने गरिन्छ :- एकोदिष्ट श्राद्ध, पार्वण श्राद्ध, नाग बलि कर्म, नारायण बलि कर्म, त्रिपिण्डी श्राद्ध, महालय श्राद्ध पक्षमा श्राद्ध कर्म विभिन्न संप्रदाय हरुबिच्मा विभिन्न प्रचलित परिपाटिहरु अपनाई आ- आफ्नो कूल-परंपरा अनुसार पित्रिहरु तृप्ति गर्न श्राद्ध कर्म गर्नै पर्दछ !

सनातनी धर्मग्रंथहरुले नित्य, नैमित्तिक (एकोद्दिष्ट ) , काम्य, वृद्धि र पार्वण गरी पाँच किसिमको श्राद्धहरु बर्णन गरेका छन् ! प्रतिदिन पितृ औ ऋषि बर्गलाई सुद्ध जल ,तिल कुश राखी तर्पण आदि द्वारा गरिने श्राद्ध नित्य श्राद्ध हो ! यसमा पितृहरुलाई शुद्ध जल मात्र प्रदान गरिन्छ ! एकोद्दिष्ट श्राद्धलाइ नैमित्तिक पनि भनिन्छ जो आफ्ना माता पिता बितेको महिनाको पक्ष र उही अस्ताउदो तिथिमा गरिन्छ ! कुनै इक्षा पुरागर्न काम्य श्राद्ध, पुत्र प्राप्ति, विवाह आदि शुभ कार्यमा कूल वृद्धिको उद्द्येश्य्ले पितृहरुलाई प्रसन्न गर्ने काम गरिंदा वृद्धि श्राद्ध / नान्दी श्राद्ध अनि पितृ दिबंगत भएको तिथि पारेर पितृ पक्ष (महालय) अथवा औंशीमा गरिएको श्राद्धलाइ पार्वण श्राद्ध भनिन्छ !

श्राद्धमा कुशको महत्व:
गरुड़ पुराण अनुसार, तिनै देवताहरु ब्रह्मा, विष्‍णु, महेश कुशको जरा , मध्य र टुप्पोमा रहन्छन ! धार्मिक ग्रन्थहरु अनुसार कुश ,तील भगवान बिष्णुको शरीरबाट उत्पति भएका हुन् ! एकोदिष्ट तथा पितृपक्षको महालयमा पित्रिहरु कुशको टुप्पोमा रहेका हुन्छन !यसै कारण तर्पण आदि गर्दा कुशको औंठी साहिली औलामा लगाउने गरिन्छ ! कुश धारण गरेर पितृहरुलाई दीएको शुद्ध जल र पिण्ड पितृहरु समक्ष सजिलै संग पुग्दछ र उनीहले खुशी भएर ग्रहण गर्दछन भन्ने बैदिक र पौराणिक मान्यता छ ! त्यसकारण पितृ तर्पण गरिंदा कुशको औंठी लगाइ र जौ तील ,कुशको प्रयोग गरी लौकिक तथा पारलौकिक पितृहरुलाई तर्पण दिइन्छ !

श्राद्धको नियम:
श्राद्ध पक्षमा व्यसन र मांसाहार पूर्ण रुपमा बर्जित हुन्छ ! पूर्णत पवित्र रहेर श्राद्ध गरिन्छ ! राती श्राद्ध गर्ने नियम छैन ! श्राद्ध को समय मध्यान्ह काल साढे़ बारह बजे देखि डेढ बजे सम्म उपयुक्त हो ! प्रकृति पूजक सनातनी हिन्दुहरुकोलागि काग ,कुकुर र गाई श्राद्धको लागि उपयुक्त पक्षी र जनावर हुन् ! यी जनावरहरु यमराजका ज्यादै नजिकका मानिन्छन ! श्रद्धा साथ् गरिएको श्राद्धले उत्तम फष्टाएका सन्तान , आयु , आरोग्य, अतुल ऐश्वर्य र इच्छित वस्तु तथा सेवा प्राप्त हुन्छ भन्ने पौराणिक बिश्वाश भएकोले तथा सो परीवारमा कार्य बाधा , स्वास्थ्य संबंधी समस्या , संतान सुखमा कमी नहोस भन्नाखातिर एकोदिष्ट र पितृपक्षमा श्राद्ध गरिंदा ब्राह्मण , ज्वाई चेला , चेली बेटी , भांजा , मामा , गुरू , छोरीको छोरो नातीलाइ भोजन गराउनु जरुरी ठानिन्छ ! सनातनी हिन्दूहरु प्रकृति पूजक भएका कारण प्रत्येक दिन गाइ , कुकुर ,बिरालो र कागलाई ख्वाउनु झनै उत्तम मान्दछन !

पूर्वजहरुको द्दोतक - पितृपक्ष:
ब्रह्म वैवर्त पुराणमा बर्णन गरीए अनुसार पितृपक्ष वा दिबंगत भएको तिथिमा वैदिक परंपरा अनुसार जो सदगृहस्थले आफ्ना पितृहरुलाई श्रद्धा पूर्वक पिंडदान, तिलांजलि र ब्राह्मण भोजन गराउदछ उसले यस जीवनमा सबै प्रकारको सांसारिक सुख र भोग प्राप्त गर्न सक्दछ भनेर वर्णित छ ! पितृपक्षलाइ महालय श्राद्ध पनि भनिन्छ भने मरेको तिथिमा गरिने श्राद्ध्लाई एकोदिष्ट श्राद्ध भनिन्छ ! हिन्दू धर्मको पौराणिक मान्यता अनुसार सूर्य कन्या राशीमा भएका बखत पित्रिहरु परलोकबाट पृथ्वीमा रहेका आफ्ना छोरा छोरीको घरको द्वारमा आइ पुग्दछन् !
'नाम गोत्र उल्लेख गरी अर्पण गरिएका पदार्थ विश्वदेव एवं अग्निमुख आदि दिव्य पित्रिहरुले लौकिक पितृहरुलाई उपलब्ध गराउछन ! यदि पूर्वजहरु देव योनीमा पुगेका छन् भने उनलाई प्रदान गरिएको अन्न जल अमृत कणको रुपमा त्यहा पुग्दछ ! कारण देवताहरु मात्र केवल अमृत पान गर्दछन ! पूर्वज मनुष्य योनीमा पुगेका छन् भने ती अन्न रुपमा तथा पशु योनीमा घास-तृणको रुपमा सर्प आदि योनीमा भए वायु रूपमा , यक्ष योनीमा भए जल आदि पेय पदार्थको रुपमा , श्राद्धमा अर्पित पदार्थहरु प्राप्त गर्दछन ! श्राद्धमा अर्पण गरेका बस्तु भोजन एवं तर्पण गरिएको जल तिनले त्यसै रुपमा पाउछन जुन योनीमा उन्कालागि ती तृप्ति कर वस्तु / पदार्थ परमात्माले छुट्याएका छन् ! जसरी गाइको झुण्ड्बाट बाच्छाबाच्छिले आफ्नो माउलाई खोज्दछ त्यसरीनै वेद मंत्रको प्रभावले श्रद्धा पूर्वक अर्पित बस्तु या पदार्थ पित्रिहरुले प्राप्त गर्दछन ! श्रद्धा एवं संकल्प साथ श्राद्ध कर्म गर्दा प्रदान गरिएका बस्तुहरु पित्रिसंम पुग्दछ !

श्राद्ध गरिदा ध्यान दिनुपर्ने कुराहरु !
गंगाजल, दूध, दही , घ्यू , मह , सुती कपड़ा , छोरी , नाती , भानिज , कुश , तिल , तुलसी पत्र ! इक्षित पितृको श्राद्ध छोरो ,आमा ,भाई ,छोरी ज्वाईं , नाती ,पनाती , भतीजा ,दत्तक छोरो आदिले गर्न सक्तछन ! पितृ पक्ष (महालय) , एकोदिष्ट( मरेको पक्ष र तिथिमा ) श्राद्ध गरिने दिन काग , कुकुर , गाई , बिरालो आदि पशु पक्षी उत्तम मानिन्छन ! कागलाई खानेकुरा दिंदा १००० गाईलाई खानेकुरा ख्वाइएको फल पाइन्छ भन्ने पौराणिक बर्णन छ !
प्रवीण अधिकारी ज्युको आधिकारिक लेख यहाँ भेट्न सकिन्छ ।