2013-05-08

खिलराजको खिलमा लोकमान तन्त्र




========
यो मुलुकाँ बिक्ने भन्ने, त्यही एउटा भाषण रैछ,
देशै बेच्ने नेता हजुर, फस्टाएको उद्दोग रैछ,
राजनीतिमा सबै जायज हुन्छ भन्ने सुनेको थेँ,
फटाहाको सासनमा, विद्वान जेल जाने रैछ ।
=======

यी लोकमानका विषयमा खोजि गर्दै जाँदा इन्टरनेटमा मैले भेटेको यीको विषयको यो फोटो फेसबुकमार्फत साभार गरेको छु । यो फोटोसंग जोडिएका प्रतिकृयाहरू यो लिन्कमा गएर हेर्न सक्नुहुनेछ ।

" म भ्रष्टाचारयुक्त समाज सिर्जना गर्नेछु" -अलोकमान सिङ कार्की
यसै सन्दर्भमा मैले अनलाइ खबरमा भेटेको यो टिप्पणी यहाँ अरूण जीको बिना अनुमति राखेको छु ।


लोकमानले तत्काल गर्नुपर्ने तीनवटा काम सम्पत्ति लुकाएर अख्तियार प्रमुख बन्न पाइन्न


टिप्पणी/अरुण बराल
 अन्ततः अदृश्य शक्ति लगाएरै भए पनि लोकमानसिंह कार्की ६ वर्षका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त बनेरै छाडे । प्रमुख आयुक्त बनेर पदभार ग्रहण गरेकै दिन उनले आयोगमा कर्मचारीलाई परम्परागत रुपले नभई नयाँ ढंगले अगाडि बढ्न निर्देशन दिइरहँदा बाहिरपट्टी पत्रकारलाई प्रवेश नदिएर ‘नयाँपन’ देखाइसकेका छन् । अब ६ वर्षको कार्यकालमा उनले कस्तो भूमिका खेल्लान् ? सिंगै नेपाली जनता कौतुहलमा छन् ।
अख्तियारमा लोकमानको नियुक्ति गलत भएको भन्दै सडकमा विरोध सेलाएको छैन । यसबारे अदालतमा  मुद्दा विचाराधीन छ । अझै अरु पनि मुद्दा पर्लान् । यस्तोबेलामा ‘एन्टी करेन्ट’ बनेर अख्तियार पुगेका कार्कीले राष्ट्रको सेवा गर्न चाहेका हुन् भने तत्कालै गर्नुपर्ने केही व्यक्तिगत कामहरु छन् ।
लोकलाज मान्ने मान्छे हो भने लोकमानले विवादित भएर अख्तियारमा जान्न भनिदिएको भए सबैभन्दा उच्च नैतिकता देखिने थियो । तर, आफूभित्रको सत्ता लालसा र कमजोर नैतिक धरातलले कार्कीलाई त्यसो भन्न र गर्न दिएन । अब नखानु खाइसकेपछि उनले तत्कालै गर्नुपर्ने कामहरु मुख्यतः तीनवटा छन् ।
कार्कीले गर्नुपर्ने पहिलो काम भनेको नेपालमा स्थापित लोकतन्त्र र गणतन्त्रप्रति उनको प्रतिवद्धता के हो ? शीतलनिवासमा सपथ खाएकै छ भन्ने काइते जवाफले होइन कि उनले खुल्लारुपमा पत्रकार सम्मेलन गरेर यसबारे जनसमक्ष प्रष्ट पार्न सक्लान् ? नेपाली जनतालाई पञ्चायत कालमाजस्तो भेडाबाख्रा सम्झेका छैनन् भने कार्कीले पत्रकारबाट लुकेर हिँड्ने होइन, सबैका सामु, जनताका सामु आफूलाई उभ्याउने हिम्मत गर्नुपर्छ । तर, बुधबार अख्तियार अगाडि पत्रकारमाथि देखाइएको हर्कत हेर्दा कार्कीमा यस्तो लोकतान्त्रिक संस्कार विकास भएको छ भनेर पत्याउन सकिँदैन ।
 दोस्रो, अख्तियारको प्रमुख बनेका कार्कीको ०७० साल वैशाख २५ गतेसम्मको सम्पत्ति कति छ भन्ने नेपाली जनतालाई जानकारी छैन । अब कार्कीले ‘कानूनबमोजिम सम्बिन्धत ठाउँमा सम्पत्ति विवरण पेश गरेको छु’ भन्दै नेपाली जनताको आँखामा छारो हाल्छन् या जनसमक्ष आफ्नो पैत्रिक सम्पत्ति सार्वजनिक गरेर पारदर्शिता देखाउँछन् ? विगतमा जस्तो पार्टीलाई चन्दा दिएर अपादर्शी बन्ने दिन सकिएका छन् ।भ्रष्टाचारीलाई कारवाही गर्न कार्की अख्तियारमा पुगेका हुन् भने उनले सबैभन्दा पहिले आफ्नो र आफ्ना परिवारको सम्पत्ति यति छ भनेर नेपाली जनतासमक्ष गोरखापत्रमार्फत् सार्वजनिक गरुन् । कानूनको आड लिएर जनताको आँखामा धूलो हाल्ने काम नगरुन् । तर, कार्कीले यस्तो पारदर्शिता र जनउत्तरदायी व्यवहार देखाउलान् भनेर कल्पना गर्न सकिँदैन । सामन्तहरु र निरंकुशताका पक्षपातीहरु आफ्नो हवेलीलाई सधैं रहस्यमै राख्न चाहन्छन्, उनीहरु जनताप्रति कहिल्यै उत्तरदायी हुँदैनन् । नारायणहिटी यसअघि यस्तै रहस्यको पोको थियो ।
कर्मचारी र राजनीतिज्ञहरुको सम्पत्ति विवरण अनिवार्य बुझाउनुपर्ने कानूनी व्यवस्था रहे पनि त्यस्तो विवरण निजामति कितावखानाको खोपीमा लुकाएर राख्ने तर, जनताले जानकारी लिन नपाउने कानुनी व्यवस्था छ । यही कानूनको सहारा लिँदे अहिले मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र उनका मन्त्रीहरुले आफ्नो सम्पत्ति जनसमक्ष सार्वजनिक नगरी लुकाएर राखिरहेका छन् । यस्तो अवस्थामा जनताले मन्त्रीको सम्पत्तिमा के कति तलमाथि भयो भनेर थाहा पाउन सक्ने अवस्थाको अन्त्य भएको छ ।मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने प्रचलन लोकतन्त्रकै एउटा उपलब्धी हो ।
०४६ सालको परिवर्तनपछि कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको सरकारले आफ्नो सम्पत्ति विवरण जनसमक्ष सार्वजनिक गर्ने प्रचलन शुरु गरेको हो । यो जनाधिकारलाई खिलराज नेतृत्वको निर्दलीय सरकारले छिनेर लिएको छ । अब लोकमानले यसमा जनताको पक्ष लिन्छन्, या निरंकुशता र भ्रष्टाचारलाई मलजल गर्छन्, त्यो हेर्न बाँकी छ । कार्कीले सक्छन् भने पहिलो कामका रुपमा रेग्मी सरकारलाई तत्काल सबै मन्त्रीहरुको सम्पत्ति गोरखापत्रमा छाप्न लगाउन् ।
तेस्रो, अहिलेसम्म रायमाझी आयोग, अख्तियार लगायतका निकायमा कार्कीका विषयमा उठेका विषयहरु के कस्ता हुन् र यसमा कार्कीको दृष्टिकोण के हो भन्ने पनि जनसमक्ष ल्याउन जरुरी छ । रायमाझी  आयोगको ६ सय ४३ पृष्ठमा लोकमानसिंह कार्कीबारे यस्तो लेखिएको छ- ‘जनधनको क्षति, पदको दुरुपयोग र मानवअधिकारको उल्लंघनमा दोषी देखिएकाले निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ वमोजिम सजाँय हुनुपर्ने ।’
स्मरणर होस्, कार्कीविरुद्ध सडकमा सानै भए पनि आन्दोलन छ । सबै दलहरुभित्र कार्कीप्रति अस्वीकृति छ । यस्तो बेलामा कार्कीले जनताको भावनालाई नजर अञ्दाज गरे भने यो नसोचे हुन्छ कि उनी सपथ खाँदैमा अख्तियारमा टिकिरहने छन् । अख्तियारमा टिकिरहनका लागि अब उनीसँग एउटै अस्त्र छ, जनतासँग भाग्ने हैन, विगतप्रति पश्चाताप गर्दै जनता र लोकतन्त्रप्रति तत्काल प्रतिवद्धता जनाउने अनि आफ्नो सम्पत्ति जनसमक्ष सार्वजनिक गरेर आर्थिक अनुशासन र नैतिकता देखाउने । ढीलो गरे उनैलाई घाटा हुनेछ । नियुक्ति पाएकै दिन उनले अख्तियारलाई परम्परगत ढंगले नचलाउने भनेका छन्, तर हेरौं उनको ‘आधुनिक ढंग’ कस्तो हुनेछ ।
आफ्नो व्यक्तिगत सम्पत्ति जनताबाट लुकाएर अख्तियार प्रमुख बन्न पाइन्न । आर्थिकरुपमै अपारदर्शी व्यक्तिलाई उच्च नैतिकता भएको मान्न सकिँदैन ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।