2011-01-06

'उपप्रधानमन्त्री गच्छदारद्वारा एअरबस खरिद गर्न घुस दिने प्रयास'

'उपप्रधानमन्त्री गच्छदारद्वारा एअरबस खरिद गर्न घुस दिने प्रयास'


प्रधानमन्त्री कार्यालयको गोप्य पत्र दूतावासमा-
'अमेरिकी दबाबले एअरबसको सम्झौता भएन'-
काठमाडौँ, पुस २० (नागरिक)- उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेपाल वायुसेवा निगमलाई एअरबसको विमान खरिद गर्ने सम्झौतामा समर्थन गर्न सार्वजनिक लेखा समितिका सदस्यहरुलाई घुस दिने प्रस्ताव राखेको विकिलिक्स दस्तावेजमा खुलेको छ। गच्छदारले एअरबस सम्झौता नभए आफ्नो पार्टी सरकारबाट निस्कने चेतावनी प्रधानमन्त्रीलाई दिएको पनि त्यसमा उल्लेख छ।

काठमाडौँस्थित अमेरिकी दूतावासका तत्कालीन प्रमुख डोनाल्ड ए क्याम्पले गत वर्षको फेब्रुअरी २४ मा वासिङटनमा पठाएको केबलमा सार्वजनिक लेखा समितिका निकट सूत्रको हवाला दिँदै त्यस्तो खुलासा गरिएको हो।
अमेरिकी विमान कम्पनी बोइङ र फ्रान्समा प्रधान कार्यालय भएको युरोपेली विमान कम्पनी एअरबसबीच आ-आफ्नो उत्पादन बिकाउन तीव्र प्रतिस्पर्धा हुन्छ। यस क्रममा अमेरिकी कुटनीतिज्ञहरुले कसरी बोइङ खरिद गर्न सो कम्पनीका लागि मार्केटिङ एजेन्टजस्तै गरी सरकार प्रमुख र एअरलाइन्स कम्पनीहरुलाई दबाब र प्रलोभन दिन्छन् भन्ने विषयमा विश्वका विभिन्न देशका दूतावासबाट जारी भएका केबलहरु सार्वजनिक गर्ने क्रममा काठमाडौँ दूतावासबाट जारी केबल पनि परेको हो।
सार्वजनिक गरिएको केबलमा दूतावासले अर्थ सचिव रामेश्वर खनालसँगको भेटबाट प्राप्त जानकारीहरु उल्लेख गरेको छ।
अमेरिकी कुटनीतिज्ञहरुको हस्तक्षेप र दबाबपछि खनालले एअरबसको विमान खरिद गर्न रकम दिन अर्थ मन्त्रालयले अस्वीकार गरेको र यसबाट अमेरिकी विमान कम्पनी बोइङको विमान खरिद हुने संभावना बढेको दस्तावेजहरुले जनाएको छ। न्युयोर्क टाइम्सले यससम्बन्धी थुप्रै केबलहरुमध्ये त्यो निर्णय भएको केबल एउटा मात्र हिजो सार्वजनिक गरेको थियो। बाँकी केबलहरु विकिलिक्सले छिट्टै सार्वजनिक गर्ने आशा गरिएको छ।
केबलमा प्रधानमन्त्री कार्यालयको स्रोतबाट प्राप्त भन्दै युरोपेली मुलुकहरुका कुटनीतिज्ञहरुले प्रधानमन्त्रीलाई एअरबस खरिद गर्न 'कडा शब्दमा लेखिएको' पत्रको व्यहोरासमेत संलग्न छ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।