2010-10-27

नेताजी


नेताजी
ड्यास बोर्डमा अलिकति तन्किएर
ढाका टोपी सोझ्याउँदै
छेवैको एक गिलास पानी तानेर
सुरूप्प पार्छन् ।
ख्वाक्क खोके जस्तो गरी
माइकमा मुख जोत्दै भन्छन् :
नयाँ नेपालको निर्माण गर्नु छ,
संविधान तोकिएको मितिमा बन्छ
जनता पररररर ताली ठोक्छन्,
नेताजी दंग पर्दै
एक छन्, सास रोक्छन् ।
यद्यपि त्यो पुरानो शान्त नेपाल
नेताजीको माइके परम्परागत भाषण
जनताको परपरे तालीसँगै
अशान्त बनिसकेको हुन्छ ।


ताली, माइक, ड्यास बोर्ड
पाँच तारेमा नयाँ नेपाल कोरिन्छ
कविहरू कवितामा नयाँ नेपाल कथ्छन्
इतिहास कारहरू खुम्चेको नेपाल लेख्छन्,
लुम्बिनी र बुद्ध,
अशोकवाटिका र कपिलवस्तु
नालापनि र सुस्ता
नेताजीको दृष्टि परै हुन्छ ।
कुर्सी लिप्सा,
स्वाधीनता भन्दा नजिक हुन्छ,
जनता असन्तुष्टीको दुहाइ दिन्छन्
एउटा अर्को आमसभामा
नेताजी फेरि भन्छन् :
हाम्रो काँधमा नयाँ नेपालको जिम्मेवारी थपिएको छ
जनता पररररर ताली ठोक्छन्,
नेताजी मख्ख पर्छन् ।
हाम्रा नेताजीहरू
कतै नयाँ नेपाल बनाउँदै
कतै नेपाल नै नयाँ फलाक्दै
आक्रान्त भूगोलमा
कट्ठा काट्दै, चपरी जुटाउँछन्,
र भन्छन्, यो गणतान्त्रिक नेपाल हो
गणतन्त्रमा भूगोल खुम्चिन्छ क्यारे
सरकार विहीनता हुन सक्छ गणतन्त्र भनेको
नामर्दी पन हुन सक्ला गणतन्त्र भनेको
छिमेकीको घोडा चरन होला नयाँ नेपाल भनेको
त्यसैले त नेताजीहरू
कुर्सीमा नेपाल देख्छन्,
नेपाल कुर्सीमै राख्छन्
अनि भन्छन्,
अब छिट्टै सहमतीय प्रणाली बन्ने छ
जनता ढुक्क हुन्छन् र गुन्छ
एउटा झीनो आशा अर्थात् मृग तृष्णा ।

फेरि एउटा अर्को सभा हुन्छ,
नेताजी तनक्क तन्किएर
माइकमा मुख जोत्दै भन्छन् :
दासताबाट हामी मुक्त छौं
जनता परररर ताली बजाउँछन्
नेताजी दंग पर्छन् ।

साँच्चै हामी वीर नेपाली
आफ्नै दासताबाट मुक्त छैनौँ
कती आनन्द छ अचेल,
छिमेकीले सरकार छान्छ,
छिमेकीले सरकार ढाल्छ,
क्या हाइ सन्चोमा हामी नेपाली
नेताजीका नयाँ नेपालमा
पत्तै नपाइ गुलाम बनी सकेम्,
अघोषित गणराज्यमा पुगेम ।
धन्य हाम्रा नेताजीहरू ।

-विष्णु प्याकुरेल, उदयपुर
२०६७ कार्तिक ७