2010-10-23

कविता "आरम्भ" - मधुश्री


कविता "आरम्भ" - मधुश्री 

हावाको वेग सरी नदीको ताल जस्तै
उठ्दैछ सुनामी जनताको माझबाट
छेक्न सक्ने छैन कोही रोक्न सक्नै छैन
ब्युझँदैछ गाउँबस्ति अब साँझबाट

भत्किएर बाँध मन्को आक्रोसको आँधि
तुहिएर बिस्वास त्यो घृणा पोको बाँधी
हृदयमा देशप्रेम निधारमा माटो
खोज्दैछन नेपाली बदलाको बाटो

देशघाती अत्याचारी शासक हो सुन
भ्रष्टाचारी दुराचारी दलाल हो सुन
बिदेशीका मतियार हतियार सुन
रगतको होली खेल्ने भूमिपति सुन
 
पटुकी कसेर भोकै बसी रुनेहरु
अन्याय सहेर ज्यू-ज्यू हजुर भन्नेहरु
दबिएको हृदयमा ज्वालामुखी फुटाई
नङ्ग्रे ज्यान भित्र लड्ने साहस जुटाई

हलो र कोदालो डोको नाम्लो सबै बोकी
हँसिया हतौडा गल-घन आँट बोकी
चौतारी भंज्याङ भिरपाखा लड्दै उठ्दै
सहँदै भोक प्यास पसिनामा पौडी खेल्दै

हिड्दैछन् नेपाली रक्षा गर्न नेपालको
जुट्दैछन् नेपाली शिर राख्न हिमालको
खन्दैछन् चियान स्वाभिमान बेच्नेहरुको
गन्दैछन् टाउको देश बेची खानेहरुको

न्यायपूर्ण सुरक्षित नेपाल यो भन्न
श्रम गरि सृजनाले नयाँ रुप दिन
अबरोध पन्छाउँन सत्य बाटो रोज्दै
डुल्दैछन् नेपाली न्यानो साथ खोज्दै

उठ्दैछ सुनामी जनताको माझबाट
ब्युझँदैछ गाउँबस्ति अब साँझबाट

-मधुश्री
६ कात्तिक २०६७