2010-03-08

हांस्न देऊ त्यसलाई - कृष्णबहादुर क्षेत्री

 साउनको आकाश निरन्तर
बादलको झापडले रोए झैं
आफ्नै भित्री पीरको सुईरोले घोचिएर
मुटुभरि धुरु-धुरु रुने
मरुभूमिको बालुवामा पानी
सिनित्तै बिलाए झैं
भित्रै आँसु लुकाउने
दाँत देखाएर बेला-बेलामा
हाँस्ने रोगले समाए झैं
खिस्स- खिस्स हाँस्ने त्यसलाई
हाँस्न देऊ त्यसलाई
 
त्यो,
पूर्वी आकाशमा बिहानै
सूर्य हाँसे झैं
आफूले देख्न्ने सबै ठाउँ हेरेर
गलल्ल हाँस्ने अभ्यास थाल्दैछ
धनाढ्यको ढुकुटीमा उपेक्षा पाएर
झुत्रेको पसीना हाँसे झैं
त्यो निसंकोचसाथ हाँस्न रुचाउँछ
हाँस्न देऊ त्यसलाई
त्यो,
आमाको काखमा निर्दोष
शिशु हाँसे झैं निश्चल
सम्पूर्ण आफैँलाई उघारेर
हाँस्ने अभ्यास गर्दैछ

हो- त्यसको स्वाँगी हाँसो
पटक्कै मन नपर्न सक्छ
छातीभरि उपेक्षा पाएर
मुटुभरि रुने त्यसलाई
दुर्भाग्यले घाँटी अँठ्याएको छ
हाँसेर त्यो चाहन्छ बाँच्नलाई
नक्कली हाँसोमै भए पनि
बाँचेको सन्तुष्टि पाउन चाहन्छ त्यो
त्यसलाई हाँस्न देउ
त्यो
उदास अनुहारभरि
सुकेका ओँठभरि
आँसु जमेका आँखाभरि
हाँश्ने चाहना गर्छ
हाँस्न देउ त्यसलाई
सान्त्वनाको दरकार छ त्यसलाई
स्वच्छ धड्कनको स्पर्श देऊ त्यसलाई

त्यो एक्लै
निर्जीव भित्ताहरुको बीचमा
किन हाँसोस् !
साथीहरुसँग हाँस्न चाहन्छ
व्यथाभरि अदृश्यरुपले डुवे पनि
टुक्राटाक्री ठट्टा सिला खोजेर
सबैलाई खिज्याउँदै
हाँस्ने कलामा पछाडि पार्दै
डाँको छोडेर १२ बजेलाई
दिवसको सलामी तोप पड्के झैं
एकैचोटि सारा खिन्नतालाई
खित्कामा बदल्न चाहन्छ
त्यो बाँच्न चाहन्छ
मान्छे भएर मान्छे जस्तै
हाँस्न देऊ त्यसलाई
त्यो, मान्छेले जस्तै हाँस्न चाहन्छ
(२०४३।११।१०)
बेलाबखतका मुस्कानहरु
(कविता – संग्रह)

रचनाकार- कृष्णबहादुर क्षेत्री

कृति- परिचय
बेलाबखतका मुस्कानहरु
बिधा- कविता-संग्रह
प्रकाशक – दिनेशप्रसाद मैनाली
प्रकाशन साल – वि.सं. २०५१
प्रति-१०००
छापाखाना- षडमुखा भगवती प्रिण्टिङ्ग प्रेश हाँडीगाउँ, काठमाडौं ।