2010-01-27

नेपाली युवतीको पासपोर्टमा भारतीय

दोहा (कतार), २०६६ माघ ११ - (कान्तिपुर अनलाइन)
वैदेशिक रोजगारीमा नेपाली राहदानी प्रयोग गरेर भारतीय युवतीसमेत खाडी मुलुक आउने गरेको तथ्य फेला परेको छ । लमजुङकी एक युवतीको राहदानीमा साउदी अरेबिया आएकी भारतीय युवतीको मृत्युपछि उनकै डायरीबाट यो तथ्य खुलेको हो ।
लमजुङ, बागलुङपानी ४ की केशमाया विकको नाममा भारत सिलिगुडीकी ३६ वर्षीया आइतीदेवी सुब्बा १३ महिनाअघि साउदी अरेबिया आएकी थिइन् । उनको मृत्यु भएर शव दाबी गर्न कोही नआएपछि
घर मालिकले नातेदार पत्ता लगाइदिन रियादस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए । 
दूतावासले मृतकको डायरीमा लेखिएको फोन नम्बरमा सम्पर्क गर्दा उनी अर्कैको राहदानीमा आएको थाहा भएको थियो । 'डायरीमा भएको नम्बरमा फोन गर्दा उनी लमजुङकी केशमाया नभएर सिलिगुडीकी आइतीदेवी भएको पत्ता लागेको हो,' रियादस्थित नेपाली दूतावासका प्रथम सचिव खड्गप्रसाद दाहालले भने, 'आइतीदेवीले आफ्नी बहिनीलाई पहिल्यै केशमायाको राहदानीमा आएकी बताएकाले परिवार पत्ता लगाउन सजिलो भयो ।'
दूतावासका अनुसार मृतक आइतीदेवीले प्रयोग गरेको राहदानीको नम्बर ४००५६७८ मा वाहकको नाम केशमाया विक र नजिकको नातेदारको नाम शान्तबहादुर विक, ठेगाना बागलुङपानी ४ लमजुङ छ । प्रथम सचिव दाहालले अन्य केही भारतीय युवती पनि नेपाली राहदानी बोकेर साउदी अरेबियामा रोजगारीमा आउने गरेको बताए । भारतले घरेलु कामदारको रूपमा महिलालाई पठाउन प्रतिबन्ध लगाएकाले पनि उनीहरूले नेपाली राहदानी किनेर आउने गरेको दूतावासको भनाइ छ । 
आइतीदेवीले कसरी केशमायाको राहदानी पाएकी थिइन् भन्ने स्पष्ट जानकारी नभए पनि उनी मुम्बई हुँदै साउदी अरेबिया पुगेको पत्ता लागेको छ । 
कान्तिपुरलाई प्राप्त आइतीदेवीको आफन्तको सम्पर्क नम्बरमा फोन गर्दा सिलिगुडीमा रहेका उनका काका मेचे सुब्बाले अर्काको राहदानीमा कसरी गइन् भन्ने थाहा नभएको बताए । 'मलाई पनि अर्काको पासपोर्ट कसरी लिएर गइन् भन्ने थाहा भएन,' नेपालीभाषी सुब्बाले अहिले शव ल्याउने प्रक्रिया चलिरहेको बताउँदै भने, 'छोरीको शव सोझै यता (भारत) ल्याउन नमिलेपछि उनको बुबाआमा काठमाडौं जानुभएको छ ।' 
परिवारले शव भारत पठाइदिन भने पनि कानुनी प्रक्रिया -नेपाली राहदानी वाहक भएकाले) नमिलेकाले उनीहरू काठमाडौं गएका छन् । घरेलु कामदारको रूपमा कार्यरत आइतीदेवीको करिब तीन महिनाअघि कात्तिक २४ गते रक्तअल्पताका कारण मृत्यु भएको थियो । 
शव लिन मृतकका बुबा सञ्चवीर, बहिनी अनिता, आमा र सानिमा (छामा) सिलिगुडीबाट काठमाडौं पुगेका छन् । उनीहरूसँग कान्तिपुरले पटकपटक फोन सम्पर्क गर्दा पनि नेटवर्क समस्याले स्पष्ट बुझ्न सकिएन । 'परिवारले मुम्बई शव पठाइदिन भनेका थिए तर भारत पठाउन नमिल्ने भएकाले नेपाल पठाउने प्रक्रिया सुरु गरेका छौं,' प्रथम सचिव दाहालले भने । दूतावासले पाँचदेखि १० दिनभित्र शव नेपाल पठाउन सकिने जनाएको छ ।
यसैबीच पाँच महिनाअघि साउदी अरेबियामा आत्महत्या गरेकी एक नेपाली महिलाको शव दाबी गर्न कोही नआएकाले दूतावासले उनको राहदानीमा आएको अर्कैको मृत्यु भएको शंका गरेको छ । घरेलु कामदारको रूपमा आएकी मृर्गौलिया ५, मोरङ निवासी ४१ वषर्ीया मञ्जुदेवी झाँगडले आत्महत्या गरेकी थिइन् ।

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।