2010-01-14

पुरस्कारखेतीमा रुमल्लिएका साहित्यकारहरू - राजेन्द्र पहाडी


नेपालीहरूको महान चाड् दशैंतिहारको लामो बिदाको अवसर पारेर मुलुकभित्र अन्य कार्यक्रमहरू जस्तै दर्जनौंको संख्यामा साहित्यिक गतिविधिहरू सम्पन्न भए। कहिं साहित्य सम्मेलन, कहिं सृजना वाचन तथा शुभकामना आदान प्रदान त कहिं पुरस्कार तथा सम्मान वितरण कार्यक्रमहरू आयोजना गरिए। यस्ता प्रकृतिका कार्यक्रम आयोजना गर्ने व्यक्ति तथा संस्थाहरू मध्ये कतिले नेपाली साहित्य क्षेत्रको मायाले ओतप्रोत भएर यी समारोहहरू सम्पन्न गरे होलान्? र कतिले आफ्नो तथा आफ्नाहरूको हित साध्ये गर्न गरे होलान्? केवल अनुमानको विषय मात्र हुनसक्ला। अमुक उद्धेश्य जेसुकै भएपनि जति गतिविधि गरिए तिनले नेपाली बाङ्मयको उत्थानमा केही न केही रचनात्मक योगदान पुर्या ए होलान् भनी लख काट्न सकिन्छ। 
तथापी, नेपाली साहित्यको फांँटमा लाजमर्दो ढंगले मौलाएको पुरस्कार र सम्मानको संस्कृति सोचनीय विषय बन्न पुगेको छ। वास्तविक र युगीन महत्वको योगदान गरेका व्यक्तिलाई उसको कर्मको कदर गर्दै हौषलास्वरुप दिइने पुरस्कार या सम्मानलाई बजारमा दुई कौडीको सामान किने जस्तो सस्तो र हल्का बनाइनुले अनेक खालका शंका उपशंकाले स्थान पाउन थालेको देखिन्छ। कर्मजीविहरूलाई थप राम्रो गर्न प्रोत्साहन, हौसला र उत्प्रेरणा प्रदान गर्नका लागि पुरस्कार या सम्मानको खांँचो छ नै। सुपात्रमा यसको प्रयोगले यसको महिमा र गरिमालाई सदैव उचो राख्छ। तर कुपात्रमा प्रयोग हुंँदा यो असाध्यै सस्तो बन्न पुग्दछ। अब्बल र दक्षहरूलाई पछाडि पार्दै चाकडी, चाप्लुसी, भनसुन र खुसामदीका आधारमा जस्तो पात्रले पनि साहित्यिक पुरस्कार या सम्मान पाउने पछिल्लो वातावरणले नेपाली साहित्याकाशलाई धुमिल र अस्वाभाविकतातर्फ धकेलेको प्रष्ट छ। कृषकले बालीनाली लगाउंँदा अर्मपर्म गरेझै आलोपालो गरेर एकले अर्कालाई पुरस्कार, सम्मान या यस्तै अनेकन नाम दिएर आफू आफूमा प्रसस्ती गाउनुको कुनै तुक र हैषियत नहुनु पर्ने हो। 'म पिटेजस्तो गर्छु त रोए जस्तो गरेस्' भन्ने नेपाली कहावतलाई आत्मसाथ गरेर साटासाटको आधारमा प्रायोजित पुरस्कार या सम्मान ग्रहण गर्न सरम मान्नु त कता हो कता अझै त्यही विषयवस्तुलाई पत्रपत्रिकामा भंगेराटाउके अक्षरमा बधाई या शुभकामना भनेर छाप्न आतुर हुनेहरूको मानसिकता देखेर ताजुब मान्नेहरू धेरै देखिन्छन्। अैंचोपैंचोमा लिएको सम्मान या पुरस्कार प्राप्त गर्नेवाला साच्चिकै योग्य, दक्ष, गुणी र सम्मानयोग्य भए उसलाई थप प्रचार प्रसारको कुनै जरुरत नै पर्दैन। समाज र युगले उसको योगदानको स्वतः उच्च मूल्यांकन गरिरहेकै हुन्छ। तर नयांँ जोगीको भेषमा धेरै खरानी घस्न पल्केकाहरू आफै पैसा लगानी गरेर सस्तो प्रचारका लागि पत्रिकाका पाना भरीभरी ठुल्ठूला फोटो सहित बधाईका शब्द खर्चिन्छन्। यस्तो रोगले साहित्य क्षेत्रमा मात्र होइन अन्य सामाजिक क्षेत्रलाई पनि नराम्रोसंँग गांँजेको छ। 
अर्काथरी नक्कली र प्रायोजित पुरस्कार या सम्मानको पर्खाइमा बसेकाहरू अघिल्ला कथित अग्रजहरूको चाकडी गर्न तथा आफ्ना लागि पनि सिफारिस गरी माग्ने हेतुले बधाई छाप्न आतुरतापूर्वक प्रतिक्षा गरिरहेका हुंँदारहेछन्। अचम्मको यो पुरस्कार आदान प्रदानको संस्कृति बुझीसाध्ये नहुने विषय रहेछ। प्रचारमा विश्वास राख्नेहरू गुणवेत्तालाई भित्ता लगाएर आफैमात्र स्वाद चाख्न माहिर हुंँदारहेछन् भन्ने कुरा थाहा पाउन टाढा धाउनै पर्दैन। हाम्रै समाज वरपर यस्तो प्रवृत्ति मज्जाले मौलाउदै गएको देख्न सकिन्छ। समय चेतनाले ओतप्रोत सृजनामा दख्खल नभएका र अटुट साधनामा विश्वास नभएका तर पहुचवालाको चिल्लो दल्न खप्पिसहरूले महिनामा दुईचारवटा सम्मान वा पुरस्कार हात पारेभने अचम्म मान्नै पर्दैन। त्यसो त लेखनी क्षेत्रमा मौलाएको यो प्रवृत्ति कुनै पनि शर्त या बहानामा हितकर हुनै सक्दैन। वास्तवमा एकाधलाई स्थापित गर्ने नाममा बहुसंख्यक कुशल र सक्षमहरू विस्तापित हुनु सरमको कुरा हो। चाकडीको भजन गाएर सज्जन देखिन खोज्नेको पहिचान समयमै भएन भने हाम्रो साहित्य अझै पछि पर्ने कुरालाई कस्ले रोक्ने? सौदाबाजी गरेर पद हत्याउने, समावेशीका नाममा गतिलालाई लत्याउने र इमान बेचेर ठूला ठालु रत्याउने प्रवृत्ति सोह्रैआना हानीकारक हुन्छ। नाम चलेका दुई चारजना स्रष्टाका रचनाबाट ससाना टुक्रा सुटुक्क झिकेर गांँसगुस पारी स्रष्टा बन्न पल्केका र साहित्यिक माफियासंँग सल्केका ठिमाहाहरूबाट जोगिन नसक्ने हो भने साहित्यले खै के देला समाजलाई? वस्तुतः भनसुनमा विश्वास गर्नेहरूले मनसुन नै शुरु नहुँंदै इत्ला कान्ला भत्काउन शुरु गर्नु कुनै अनौठो कुरा होइन, अपितु लाज सरम पचाएर कथित सम्मानका पछि मात्र दगुर्नु आलोच्य विषय हो। 
साहित्य या अन्य कुनै बहाना पारेर एकाध संस्था वा प्रतिष्ठान खोल्ने र आफ्नै एकाघर परिवारका सदस्यको कार्यसमिति बनाएर पुरस्कारको किनबेच गर्न पल्केकाहरूले इमान जमानको नेपाली मौलिक संस्कारलाई तिलाञ्जली दिएको देखेर अचम्म लाग्छ। पुरस्कार र सम्मानका लागि देशाटन गरेर व्यक्तिगत विवरणका पाना थप्नेहरूका बारेमा लक्ष्मीप्रसाद देवकोटा, मोतिराम भट्ट, भानुभक्त आचार्य, सिद्धिचरण श्रेष्ठ, भूपी सेरचन, विश्वेश्वररप्रसाद कोइराला र अन्य मूर्धन्य साहित्यसेवी जीवितै भएको भए के भन्थे होला कुन्नी? आफ्नो खंदिलो, मौलिक र जीवन्त लेखन कर्मलाई वेवास्ता गर्ने तर अर्काका रचना जोरजाम पारेर प्रकाशन गरेकै भरमा साहित्यका लागि अतुलनीय योगदान पुर्यातएको भनी ठान्ने ढोंग पनि गतिलो विषय होइन र हुनु हुंँदैन। अग्रजहरूको भूमिकालाई नजरअन्दाज गरेर आफूलाई मात्र गतिलो घोषणा गर्ने र त्यसैलाई प्रचारको माध्यम बनाएर निहित स्वार्थसिद्ध गर्नुले न त साहित्य क्षेत्रको उन्नयनमा रचनात्मक सहयोग पुग्न सक्छ, न त समाजलाई केही दिन नै सकिन्छ। 
खुबी, दक्षता, प्रविणता केही नभए पनि लिंग, जाती, क्षेत्र, भाषाभाषीका नाममा मानका खातिर मान थोपर्दै जाने हो भने नेपाली साहित्यको उचाई कति अग्लिन सक्ला? सोचनीय विषय बन्नै पर्दछ। अरुका रचना सर्लक्क सारेर आफ्ना नाममा छपाउने र पोल खुलेपछि गल्ती महशुष गरेको सफाई दिएर पाना भर्ने साहित्यले कुन्नी कसरी सघाउला नेपाली साहित्याकाशको दायरा फराकिलो बनाउन? यसै भन्न सक्किन्न। यसबाहेक हाम्रा बीचमा यस्ता कथित साहित्यकारहरू पनि भेटिन्छन् जो आफूलाई लेखनकर्मी त भन्न रुचाउंँछन् तर परेका बेला परपर भाग्छन्। सानातिना साहित्यिक कार्यक्रममा प्रमुख अथिति बन्ने अवसर पाएदेखि चार हातपाउ टेकेर भए पनि पुग्नेहरू अलिकति उपल्लो स्तरको साहित्यिक जमघट जहांँ विचार मन्थन हुन्छ, साहित्यिक फांँटको सांँगोपांँगो समीक्षा हुन्छ, त्यहांँ नपुग्नु वा पुग्न नचाहनु ताजुब लाग्दो कुरा हो। स्तरीयता र गुणस्तरबाट तर्सनेहरू सायद यसरी विचार मन्थनबाट टाढा भाग्छन्। आफ्नो गुणमा विश्वास नभएकाहरू सम्भवतः गुणवेत्ताहरूसंँगको आमने सामने पचाउन सक्दैनन् क्यार। यसै भएर होला भनसुन र चाकडीका भरमा जोरजाम पारेको कथित सम्मान र पुरस्कार थुपुक्क थाप्छन् र पत्रपत्रिका मार्फत प्रायोजित शुभकामना छपाउंँछन्। छाप्न लगाउंँछन्। नाई भन्न नसक्ने आफ्ना मान्छेको पैसा स्वाहाः पारिदिन्छन्। बधाईका भोकाहरूलाई के थाहा विस्तारै विस्तारै स्वजनहरूबाटै उनीहरू तिरस्कृत र बहिस्कृत हुंँदैछन् भन्ने कुरा। 
बुझेर या नबुझेर जे जस्तो अभ्यासमा लागेको भए पनि आफूलाई सच्च्याउन चाहनेले त्यस्तो अवसर पाउनु पर्दछ भन्ने कुरामा कुनै विवाद छैन। अभिमानी कुण्ठा पालेर जी हजुरीमा समय खेर फाल्नु भन्दा मौजुदा हैषियतलाई सहर्ष स्वीकार गर्नु महत्ताको सहयोगी हुन सक्छ। बिनासित्तिको नौटंकी रचेर दुनिया हंँसाउनुभन्दा त 'सन्तोषम् परम् शुखम्' नै उत्तम होला होइन र? सत्ता, शक्ति र सम्पत्तिलाई असाध्यै प्यारो ठान्ने दर्शनबाट दीक्षितहरूको परपैंचो र लेनादेना संस्कृतिले तिनको मतिलाई प्रष्ट देखाइदिएको छ। साहित्य सेवाको लामो व्यक्तिगत विवरण प्रस्तुत गरेर या कितावको आकारभन्दा ठूलो आफ्नो कृतिम हांँसोयुक्त फोटो छपाएर प्रचारमा उत्रने शैलीले रचनाको गुदीलाई ओझेलमा पार्ला भन्ने चिन्ता देखिएन स्रष्टाहरूमा। फेरी पनि यो नमिठो लाग्ने विषय हो। 
सत्ता, शक्ति, पहुँच र सम्पत्ति भएपछि रातारात लेखक, साहित्यकार बन्न सकिने चर्चामा कत्तिको सत्यता होला कुन्नी? गर्नेहरूले नै जानुन्। थर्काएर, फकाएर या अनमोल बस्तु चखाएरै भए पनि दुनो आफ्ना हातमा पार्ने असाध्यै तल्लो दर्जाको हर्कत सिर्जना कर्ममा कत्तिको सुहाउंँछ यसै भन्न सकिंदैन। चिल्लो गातो राखेर एकाध पुस्तक प्रकाशन गरेकै भरमा अरुको सातो खान खोज्ने र आफू बराबरको कसैलाई नदेख्ने अन्धता लेखन क्षेत्रमा हावी हुंँदा प्रकारान्तरले फाइदा सर्जकलाई हुन्छ कि पाठकलाई? खुट्याउन कठिन छ। सृजनाको गुण पक्षलाई वेवास्ता गर्ने तर संख्यात्मक दृष्टिले प्रकाशनको आयतन बढाउंँदै जांँदा खति बेर्होनुपर्ने कसले हो? समयले प्रस्टाउने नै छ। 
यसका अलवा कुनै नामको गुट, उपगुट, लबी वा समूह बनाएर साहित्य सृजनामा जुट्नेहरू अर्को समूहकालाई जरैदेखि निषेध गर्न कम्मर कसेर लागेको देख्दा '....भन्दा देख्नेलाई लाज' भन्ने लोकोक्ति चरितार्थ हुनपुग्छ। स्वच्छन्दता र लेखकीय स्वतन्त्रताका नाममा हदैसम्मको कुरुपताको पक्षपोषण गर्नु सृजनबेइमानी हुन पुग्छ। परिवर्तनउत्सुक पाठक चेतनामा प्रतिध्रुवीय अस्त्र प्रहार गर्नुले कालजयी साहित्य सृजना हुनै सक्दैन। साहित्यको किल्ला गाडेर सधैंको गाईजात्रा देखाउन मरिहत्ते गर्नु सुहाउने कुरा होइन। एउटाले अर्काको हदैसम्म मानमर्दन गर्ने, अस्वीकार गर्ने या निषेध गर्ने कर्मले साहित्यको श्रीवृद्धिमा कतैबाट पनि सहयोग पुग्न सक्दैन। ऊ भन्दा म ठूलो भनेर तुकविहिन र लाजमर्दो व्यवहारतर्फ उद्धत हुनु राम्रो कुरा होइन। फलेको बृक्षको हांँगो नझुकेको कहांँ छ र? भनेझै योग्य, सक्षम र सिल्पीलाई ठूलो देखिन पुरस्कार र सम्मान आवश्क नै पर्दैन। गरुङ्गो चीज त गहिराईमा बस्छ, निश्चल, धीर र शान्त हुन्छ, सतहमा गरिने हल्लाखल्लामा उसको विश्वास हुंँदैन। तसर्थ कालजयी सृजनाका माध्यमबाट समाज र दुनियाको नजरमा उपल्लो स्थानमा बस्न पाउनुभन्दा ठूलो अर्को पुरस्कार हुनै सक्दैन। यसो भएकाले कुतर्क गर्न छाडेर र नियोजित हल्लाखल्लाको पछि नलागी समयको माग मुताविक सच्चिनु या आफ्नै थलामा थच्चिनु स्वनामधन्य साहित्यसेवीबाट आश राख्ने एउटै विषय बांँकी छ।

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Friday, January 1, 2010, 3:04 pm

No comments:

Post a Comment


आफ्ना सल्लाह र सुझावका लागी समय खर्चिनु हुने सबै प्रति आभार छु ।
Thank you for taking your valuable time to Read or Comment on this blog.

धन्यवाद ।