2010-01-03

नोष्टाल्जियाको बर्खेझरीभित्र (कवीता) -समदर्शी काइँला


-समदर्शी काइँला (Wednesday, December 23, 2009)


पि्रय एरोस लेकाली फूल !

हिउँ फुस.. फुस.. फुस.. फुस.. परेको रात
हिउँ आँधी आएर उल्का झरेको रात
पृथ्वी अस्थायी डेराबाट-
तिमिले एकाएक बसाइ सरेपछि पो थाहा भो,
माटोको सुन्दर पुतली जिवन!
-लाई ओबानू स्पर्शहरुले सुम्सुम्याएर
पकि्रराख्नु सुन्दर मरीचिका मात्र
या रङ्ग फिका मात्र।
मेरो जिवन-


अर्को समानान्तर रुप=
एक पाना सादा पहाडे कागज!
तिमिले सुन्दर अक्षरहरु लेख्न पैचो मागेर
हतारमा खेस्रैखेस्रा मात्र गरिराखेर
न सादा न रङिलो
पङकिल बनाएर गयौ।
मायाको ड्याङमा टुसाएको सानू बिरुवा

भन्ज्याङको शारदीय बूढो रुख भएर
हिजो पो भन्यो-
ओबानू स्पर्शहरुमा अगणित बर्षहरुको रुक्खो मृत्यु।


एक थुङ्गा शिरफूलको वैश
एक थुङ्गा भिरफूलको माया
वैश र मायालाई !
पट्याएर मनको बन्द सोकेसभित्र
प्रेमको साँचोले लुकाएर राख्नु सुन्दर भुलको काया।


लेकालीफूलजस्तै सुन्दर
लेकाली केटी!
लेकालीखोलाजस्तै
पहाडबाट हाम्फाल्दै हाम् फाल्दै
बगेर गयो जिवनको खोचैखोंच
हिउँ फुस फुस फुस फुस परेको रात
हिउँआँधी आएर उल्का झरेको रात ।

मेरो क्लियोपेटा! मेरो 'म'
कुहिरोको पहाडमुन्तिर
गुरास फुल्ने लेकमा
डोकोभरि घासपातको भारी बोकेर
घासपातको घारीभन्दा गह्ौं मनसन्तापको भारी बोकेर
जिवनको लेक उक्लिरहेको लेकाली केटी
नोष्टाल्जियाको बर्खेझरीभित्र रोइरहेछ............


एक पसर ऐन्द्रिक संवेदनबाट-
एरोस हराएको रात
जिवनको डिलैमा उभेर एकोहोरो सुनिरहेछु....
नियास्रो आइतबार को धुन निकालेर
आँखाबाट बगिरहेछ मिसिसिपी
बगाउँदै 'म' लाई।


मिसिसिपी बगेर दलदल भएको पृथ्वीमािथ
विरुपाक्षझैं भा... सि.. इ.. र ..हे ..को...
निख्लम कोदोको तीनपाने रक्सीमा
आँशु मिसाएर कक्तेल
पिउँदै पिउँदै म अचिलस ल.. डि.. र.. हे.. को...
कि आकाशको यौटा ध्रुवतारा मरि नै सक्यो
जसको मदतले म जहाज समुद्रमा चलाउँथें।


सम्झें -लेकालीफूल !
जो निकै अबेरसम्म हाँसेर बाँचीरहन्छ हिउँझरीमा
 गीत गाउँदै मेलाङकोलीको
मधुर स्वर चोरेर बतासको-
फूल हुँ म बुकी
संसारमै छैन नी हौ म जत्ति दुखी
आऊ मलयानिल मार हानेर जाऊ
हुन्छु म त्यसैमा सुखी ।

 
एकैफेरा यात्रा !
हिडेर जिवनको लेकैलेक
लागेर बाबेल उक्लेजस्तो
मध्यराततिर नरमेध शहरमा पुगें
आइन्सटाइनको आँशु रोइरहेथ्यो समय।

 
मखमली जिवन बाँच्नुको रहरमा
पुग्दा शहरमा
कौसीको गमलाको बैशालु फूलहरु
मरीरहेको पो देखें बेस्याहार बिनामाली
तेस्कारण अचेल मन
कैले माथि सगरमाथाको टुप्पोमा उक्लिन्छ
र लेक लागेर मर्छ
कैले तल केचनाको फेदमा झर्छ
र लु लागेर मर्छ
सधैजसो यही बस्छ नरमेध शहरमा।



यतिखेर भा गि इ र हे छु .......
नरमेध शहरबाट -
एरोस गएको सुदूर प्रदेशतिर
तर बस् यो ओसिलो साँझ
समय कारागारभित्र बन्दी मनहरुले
मायावी शब्दमा अचेलभरि
डाकीबस्दछ.... डाकीबस्दछ.... डाकीबस्दछ.....
उही लेकालीफूलको
नोष्टाल्जियाहरु ।